
पूर्णपुष्टि, असार १७ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट र आसपासको क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ। आज बिहान केही समय मौसम खुले पनि दिउँसोदेखि पुनः निरन्तर वर्षा भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।
अविरल वर्षाका कारण बरुवा खोला र त्रियुगा नदीमा बाढी आएको छ। बरुवा खोलाको बाढीले आसपासका बस्तीहरू जोखिममा परेका छन्। वर्षाको भेलले बरुवा बसपार्क डुबानमा परेको छ। त्रियुगा नदीको बाढीले खेत कटान गरेको र बालुवाले पुरेको स्थानीय कृषकहरूले बताएका छन्। यस क्षेत्रका किसानहरू बर्षेनी त्रियुगाको बाढीबाट पीडित हुँदै आएका छन्।
स्थानीय प्रशासनले बाढी र डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अपिल गरेको छ। साथै, आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ। मौसम विभागले आगामी केही दिन यस क्षेत्रमा थप वर्षाको सम्भावना रहेको जनाएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायहरू सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्क रहेको बताइएको छ।
