
पूर्णपुष्टि, चैत्र २० । उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका एक युवा कारागार चलान भएका छन् । यहि चैत्र १९ गते जिल्ला अदालत उदयपुरको आदेशले सप्तरीको राजविराज नगरपालिका–३ हनुमान चौक घर भई हाल त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय विवेक थापा मगरलाई पुर्पक्षको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार मगरले उदयपुर र खोटाङ जिल्लाका केही व्यक्तिहरुलाई मोटरसाईकल, स्कुटरको सवारी दर्ता किताब र बिमा नविकरण गरिदिने आश्वासन दिलाई नक्कली लिखत बनाई ठगी गरेको भन्ने जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा मगरलाई फागुन २० गते पक्राउ गरी अनुसन्धान थालिएको एसपी योगिले जनाए ।
अनुसन्धानको क्रममा मगरले उदयपुर र खोटाङका केही व्यक्तिहरुबाट सवारी दर्ता किताब नविकरण गरिदिने भनी सवारी दर्ता किताब र नगद समेत लिई यातायात व्यवस्था सेवा कार्यालय गाईघाट उदयपुरको नक्कली सहि छाप प्रयोग गर्दै नक्कली लिखत बनाएर सेवाग्राहीलाई ठगी गरेको खुलेको एसपी योगिले जनाए ।