
पूर्णपुष्टि,जेष्ठ ४ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी पुनः एकीकरण कार्यक्रम सञ्चालन एवं कार्यन्वयन सम्बन्धि जनप्रतिनिधिहरुसँगको एक दिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा अवस्थित रोजगार सेवा केन्द्रद्धारा आयोजिन कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई सूचीकरण गर्दै उनीहरुको सिप, पूँजी, दक्षता र अनुभवलाई उपयोग गरी उद्यमी तथा व्यावसायी बनाउने उदेश्यका साथ कार्यक्र सञ्चालन गरेको हो ।
वैदेशिक रोजगारकालागि बिभिन्न मुलुक पुगि फर्की आएका युवाहरुलाई उनीहरुको पूँजी, सीप मुलक ज्ञान र आफुले जानेको कामहरु स्वदेशमा सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गरिने रोजगार सेवा केन्द्रका संयोजक निशा घलेले बताइन् । उनले पुनः एकीकरण कार्यक्रममा विदेशबाट फर्किएकाहरूलाई समाजमा अन्तरघुलन गराउदै सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालन गरिने बताइन् ।
‘केन्द्रमा वैदेशिक रोजगार बोर्डको कार्यकारीले कोर्डिनेसन गर्ने, प्रदेशमा सामाजिक विकास मन्त्रालयले गर्ने र पालिकामा उपप्रमुखले गर्ने गरि संरचना बनेको त्रियुगा नगरपालिकाका सामाजिक बिकाश शाखा प्रमुख राज कुमार खड्काले बताए ।
बैदेशिक रोजगारबाट सिप लिएर आएकालाई पुँजीको वातावरण र सीप र पूँजी दुवै लिएर आएकालाई लगानीको वातावरण बनायर समाजमा स्थापित गराउदै नेतृत्व बिकाश देखि उद्यमशील बनाउने गरि नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत पहल गरिरहेको मेयर बसन्त कुमार बस्नेतले बताए।
यस्तै उपमेयर महेश्वरी राईले बढ्दो बजारीकरणलाई ध्यानमा राखी बजारको आवश्यकताको आधारमा विदेशबाट फर्किएकाहरूको सिप, दक्षता, अनुभवको उपयोग गर्न आग्रह गरिन । विदेशमा बस्दाको सिप, दक्षता, अनुभवलाई यहाँको समाज र बजारसँग सुहाउदो बनाएर एकीकरण गर्दै उद्यमशीलता सिर्जना गर्न नगरपालिका लागि परेको उनले बताइन। कार्यक्रममा त्रियुगा नगरपालिकाका १६ वडाका वडा अध्यक्ष मान बहादुर राई साथै कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
