
पूर्णपुष्टि, चैत्र ११
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी जनता बाट केहि समयको लागि मात्र टाढा भएको जनाएको छ । यो पनि जनताले टाढा नबनाई राजनितिक दलका खराब तत्वहरुले टाढा बनाएको जनाए । उनले स्थानीय चुनाव सँगै एमाले पूनः जनता माझ फर्कने जनाएको छ । अहिले सरकार बाट आफुहरु अलग भएपनि स्थानीय, प्रदेश र संघको निर्वाचनको परिणामले एमालेलाई फेरी जनता नजिक बनाउने अध्यक्ष ओलीले जनाए ।
शुक्रबार उदयपुरको गाईघाट स्थित मदन भण्डारी आखाँ अस्पतालको भवन उद्घाटन तथा एमाले उदयपुरले आयोजना गरेको आमसभामा आफ्नो कुरा राख्दै ओलीले यस्तो बताएको हो । उनले एमाले पार्टी जनताको पार्टी भएकै कारण आउँदो चुनावहरुमा देशकै पहिलो पार्टीको रुपमा निरन्तर किर्तिमान राख्ने समेत जनाए ।
उनले नेकपा एमालेलाई असफल बनाउन राजनितिक दलहरु सक्रिय रुपमा लागिरहेको आरोप समेत लगाए । यस्तो अवस्थामा देशभरीकै एमाले नेता कार्यकर्ताहरु सचेत भईकन आफ्नो जिम्मेवारीमा लाग्न अनुरोध समेत गरे । उनले नवप्रवेशीहरुलाई पार्टीमा भव्य स्वागत गर्दै आउने दिनहरुमा एमालेको एजेन्टालाई सफल बनाउ सबैलाई जिम्मेवारी र समावेशीकरण गराउने समेत जनाए । पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गरे ।
उनले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको बताए । ‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं,’ उनले भने, ‘निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुन: जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं ।’ उनले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने दाबी गरे ।ओली गाईघाट स्थित मदन भण्डारी आँखा अस्पतालको उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न उदयपुरको सदरमुकाम गाईघाट आएका थिए । उनले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने समेत चेतावनी दिएका छन् । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उनले बताए ।
