Sunday, April 19News That Matters

उदयपुर जिल्ला अस्पतालका प्रशासक डा. ज्ञानेन्द्र झाको बिदाई

पूर्णपुष्टि, भदौ २४ ।  उदयपुर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र कुमार झाको सरुवा भएपछि शनिबार एक कार्यक्रमको आयोजना गरी उनको बिदाई गरिएको छ। दुई वर्षअघि उदयपुर अस्पतालमा आएका हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सर्जन डा. झाले आफ्नो कार्यकालमा अस्पतालको संस्थागत सुधार र सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

डा. झाको नेतृत्वमा उदयपुर जिल्ला अस्पतालले कोशी प्रदेशमा दुई पटक उत्कृष्ट अस्पतालको रूपमा पुरस्कार प्राप्त गरेको थियो। उनको कार्यकालमा अस्पतालमा रेडियोलोजिस्ट नियुक्ति, अप्रेशन सेवा, एसएनसियु सेवा, फिजियोथेरापी, डाइलासिस सेवा, बिशेषज्ञ सेवा लगायत थुप्रै नयाँ सेवाहरू सुरु गरिएको थियो।

बिदाई समारोहमा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले डा. झालाई कुशल डाक्टर र प्रशासकको रूपमा प्रशंसा गर्दै उनको अभाव महसुस हुने बताए। स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर निरीक्षक चिरन्जीवी निरौलाले डा. झाको कार्यकाल अविस्मरणीय रहेको उल्लेख गरे।