Sunday, April 19News That Matters

क्रान्तिकारी विद्यार्थी नेता रेग्मीद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

पूर्णपुष्टि, भदौ २३ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी शर्माले आगामी २३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

आज त्रियुगा जनता बहुमुखी क्याम्पस मोडिगताको स्व.वि.यु. भवनमा पत्रकार सम्मेलनमा बोल्दै रेग्मीले वर्तमान शैक्षिक व्यवस्थामा रहेका विसंगति र समस्याहरूलाई सम्बोधन गर्न विद्यार्थी आन्दोलनलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, “हामीले समाजवादी शिक्षाको कुरा गरिरहेका छौं, तर व्यवहारमा त्यसलाई लागू गर्न सकिरहेका छैनौं।”

रेग्मीले प्रमुख शैक्षिक चुनौतीहरूमा सामुदायिक विद्यालयहरूको गिर्दो स्तर, विश्वविद्यालय शिक्षाको गुणस्तर र प्राविधिक शिक्षाको अपर्याप्तता रहेको उल्लेख गरे। उनले भने, “हाम्रा विश्वविद्यालयहरू केवल प्रमाणपत्र वितरण केन्द्र जस्ता भएका छन्। हामीले शिक्षालाई रोजगारीसँग जोड्न सकेका छैनौं।”

आगामी असोज २ देखि ५ गतेसम्म हुने सम्मेलनमा रेग्मीले विद्यार्थी संगठनलाई पुनर्गठन र पुनः परिभाषित गर्ने योजना अघि सारेका छन्। उनले विचार, दृष्टिकोण र कार्यशैली मिल्ने साथीहरूसँग सहकार्य गरेर निर्वाचन जित्ने आत्मविश्वास व्यक्त गरे। रेग्मीले थपे, “विद्यार्थी संगठन र आन्दोलनलाई सही दिशामा लैजान हामीले गम्भीर प्रयास गर्नुपर्छ। यो केवल मेरो मात्र होइन, सबैको साझा जिम्मेवारी हो।”