Sunday, April 19News That Matters

उदयपुर डान्स चेम्पियनसिप–२ को उपाधी जितिन खोटाङकी लाजिमा राईले

१ चैत्र, २०८२ । उदयपुर
उदयपुर डान्स च्याम्पियन सिजन–२ को उपाधी खोटाङ जिल्लाकी लाजिमा राईले जितेकी छिन् । हिजो राती सम्पन्न फाईन राउण्टबाट लाजिमाले १६ फाइनलिष्टहरुलाई पछि पार्दै उपाधी जितेकी हुन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारबजारमा भएको ग्राण्ड फिनालेमा जितसंगै उनले ४० हजार नगद पुरस्कारसहित अवार्ड र प्रमाणपत्र पाएकी छिन् । नृत्य क्षेत्रकी एक लगनशिल प्रतिभा हुन उनी । जितले उनी नृत्यमा थप उत्साहित बनेको प्रतिक्रिया दिएकी छिन् ।
प्रतियोगितामा उदयपुर (कटारी)की माया मगर फस्ट रनरअप, हडियाकी कुन्जन सुनाम सेकेन्डरनरअप र कटारीकै प्रमिसा कार्की थर्डरनरअप भए । बेस्ट एक्सप्रेसन अवार्ड बेल्टारकी सेडृना राईले जितिन, बेस्ट डिसिप्लिन अवार्ड भोजपुरका दिवाहाङ राईले जिते भने बेस्ट परफर्मर अवार्ड कटारीकी स्वयता आले मगर र रेस्मी मगरले जितेका छन् ।
फस्ट रनरअपले नगद २० हजार, सेकेन्ड रनरअपले नगद १० हजार र थर्ड रनरअपले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उदयपुर डान्स स्टुडियो बेल्टारको आयोजनामा गत माघ १३ गते कटारी बजारमा अडिसन राउण्ड सुरुवात गरि विभिन्न राउड पुरा गरी फाइनल राउण्ड भएको हो । उदयपुरको मुुब्य ब्यापारिक केन्द्रहरु उदयपुरगढी गाउँपालिकाको नेपालटार, रौतामाई गाउँपालिकाको मुर्कुची, चौदण्डीगढी नगरपालिकाको बेल्टार, त्रियुगा नगरपालिकाको गाईघाट र बेलका नगरपालिकाको रामपुरमा अडिसन राउण्ड गरिएको थियो । अडिसनबाट छनौट भएका ६५ जना प्रतिस्पर्धीबाट विभिन्न चरण पार गर्दै फाइनलिष्टमा १६ जना रहेका थिए ।
आयोजक उदयपुर डान्स स्टुडियोका सञ्चालक तथा नृत्य निर्देशक संघ उदयपुरका अध्यक्ष प्रेमजङ्ग किरातीका अनुसार सानदार र सौहाद्रपूर्णढंगले उदयपुर डान्स च्याम्पियनको दोस्रो सिजन सम्पन्न भयो । यसपटक पूर्णरुपले प्रतियोगिको कला र प्रतिभाको आधारमा विजेता चयन भएको उनले बताए ।
“निर्णायक मण्डलले प्रतिस्पर्धीहरूको नृत्य कौशल, अभिव्यक्ति, तालमेल, प्रस्तुति शैली तथा विगतदेखि उनीहरूले देखाउँदै आएको नृत्य प्रतिभा लगायतका आधारमा मूल्यांकन गरी विजेता तथा उपविजेता छनोट गरेका हुन् ।” उनले भने ।
यसवर्षको प्रतियोगितामा भोटिङ सिस्टम हटाइएको थियो । पैसाका कारण प्रतिभा पछाडि परेको भन्दै अडियन्सहरुबाट सल्लाह, सुझाव आएपछि आयोजकले प्रतिभाको आधारमा हारजित हुनेगरी भोटिङ सिस्टम हटाएको थियो । साथै यो पटक जिल्ला बाहिरका छिमेकी जिल्लाका प्रतिभाहरुसमेतलाई भाग लिने अवसर दिइएको थियो । फलस्वरुप भोजपुरकी प्रतिभाले उपाधी जित्न सफल भएकी हुन् ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई चौदण्डीगढी नगरपालिकाका पूर्व मेयर खगेन्द्र राई, वडा नं। ७ का पूर्व वडाध्यक्ष तेजराज तिमल्सिना, समाजसेवी जनक बस्नेत तथा शिक्षाविद् जितबहादुर कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताले उदयपुरमा नृत्य संस्कृतिको विकास र नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पु‍र्याएको छ ।