
पूर्णपुष्टि, असोज २३ गते ।
नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले टिकट नपाएपछि राजीनामा दिएका छन् । बागलुङ १ ख मा उम्मेदवारको आकांक्षी पौडेलले पार्टीबाट राजीनामा दिएका हुन् ।
उक्त क्षेत्रमा पार्टीले डिल्लीराम सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय राजनीतिको अभ्यास गर्ने तेस्रो प्रयासमा समेत पार्टीले आफ्नो मूल्यांकन नगरेको भन्दै उनले राजनीमा गरेका छन् । प्रदेशसभातर्फको उम्मेदवार हुन पाउन यसपटकको आशा पनि मरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेकाहरू मात्रै योग्य हुने परिपाटी आफूलाई सदैव अस्वीकार्य छ र रहने छ,’ पौडेलले लेखेका छन्, ‘मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव मार्फÞत हजुर श्री शेरबहादुर देउवा समक्ष राजीनामा पेस गरेको छु ।’
पौडेललाई १४ औं महाधिवेशनअघि सभापति देउवाले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । पौडेल पार्टीभित्र संस्थापन पक्षका हुन् ।
