
पूर्णपुष्टि, कार्तिक १६ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका केही साना कम्युनिस्ट पार्टीहरू पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् । कात्तिक २० गते संयुक्त भेला गरेर औपचारिक रूपमा एकता घोषणा गर्ने योजना रहेको ती दलका नेताहरूले बताएका छन् ।
शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक र शनिवार बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकता अपरिहार्य रहेको भन्दै जतिसक्दो चाँडो एकता घोषणा गर्ने निर्णय गरेका छन् ।
घोषणापत्र र विधान तयार
एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालले एकीकृत पार्टीको घोषणापत्र र विधान तयार भइसकेको जानकारी दिएका छन् । संयुक्त बैठकलाई नै राष्ट्रिय सम्मेलनका रूपमा परिणत गरी ती दस्तावेजहरू पारित गरिने तयारी छ ।
घोषणापत्रमा तीन मुख्य पक्ष समेटिएका छन् – उद्देश्य र नीति, मार्गदर्शक सिद्धान्त र दृष्टिकोण तथा प्रतिबद्धता । रणनीतिक लक्ष्यमा वैज्ञानिक समाजवाद रहेको छ भने मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद लेनिनवाद रहने निश्चित भएको छ ।
प्रतिबद्धताअन्तर्गत २१ बुँदा समेटिएका छन् जसमा राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा, विकास, भ्रष्टाचार उन्मुलन, सुशासन कायम, रोजगारी र पारदर्शिता जस्ता विषय समावेश छन् ।
कुन कुन पार्टी जोडिँदैछन् ?
माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टी र चिरण सीस समूहबीच एकताको तयारी भएको माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।
संरचना र नेतृत्व
राष्ट्रिय महाधिवेशन नहुँदासम्म केन्द्रदेखि तल्लो तहसम्म संयोजक र सहसंयोजक राखेर कमिटी निर्माण गर्ने तयारी छ । माओवादी नेता हरिबोल गजुरेलले एकता ६० र ४० प्रतिशतले गर्नेगरी गृहकार्य भइरहेको बताए । तर एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले भने प्रतिशत नतोकिएको दाबी गरे ।
पार्टीको नाम नेकपा समाजवादी प्रस्ताव गरिएको छ । चुनाव चिन्हमा तारा, कलम, दियो लगायतमा छलफल भइरहेको र कात्तिक १८ गतेसम्म सहमति जुट्ने नेताहरूको भनाइ छ । कात्तिक २१ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने योजना रहेको छ ।
केही नेताहरूको असहमति
एकताको तयारी भइरहेका बेला दुवै पार्टीका केही नेताहरूले असहमति जनाएका छन् । एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले अहिलेको मोडलको एकताप्रति विमति राखेका छन् ।
माओवादी नेता जनार्दन शर्माले पार्टी पुनर्गठन नगरी एकताका लागि अघि बढे ऐतिहासिक गल्ती हुने बताएका छन् । विचार, सिद्धान्त, नीति र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी अन्य पार्टीसँग एकता गर्न अघि बढ्नु उचित नहुने उनको तर्क छ ।
