Friday, May 1News That Matters

गुल्मीको रेसुङ्गा र मदानेमा आठ प्रजातिका नयाँ चरा फेला

पूर्णपुष्टि, साउन ३० ।  गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन्। नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीका अनुसार सङ्घले गरेको सर्वेक्षणमा यी नयाँ प्रजातिका चराहरू भेटिएका हुन्।

मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी गरी छ प्रजाति फेला परेका छन्। त्यस्तै रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला र अर्को एक प्रजाति गरी दुई नयाँ प्रजाति फेला परेका छन्। परियोजना अधिकृत पन्थीले वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको जानकारी दिए।

विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन्। रेसुङ्गामा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन्। साथै, नेपालमा मात्र पाइने काँडे भ्याकुर पनि यहाँ पाइन्छ। एक सर्वेक्षणअनुसार रेसुङ्गामा २६३ र मदानेमा २८६ प्रजातिका चरा फेला परेका छन्। यो नेपालमा पाइने कुल चरा प्रजातिको ३५ प्रतिशत हो।

डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनीले सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थान जोगाउन स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गरी स्थानीयलाई वन संरक्षणमा सहभागी गराउँदै आएको छ।