
पूर्णपुष्टि, असार २० । महोत्तरी प्रहरीले गौशालामा भएको गोली प्रहार र लुटपाट घटनाका दुई आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका ४७ बर्षीय शशी शंकर कापर र महोत्तरीका ३० बर्षीय आशिष कुमार कंठ रहेका छन् ।
गत जेठ २८ गते गौशाला नगरपालिकामा विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटिएको थियो। प्रहरीले घटनास्थलबाट गोली र खोका बरामद गरेको थियो। पक्राउ परेका दुवै जना पटके अपराधी रहेको र विगतमा जेल सजाय भुक्तान गरेर छुटेका खुलेको छ । उनीहरूबाट लोड भएको कटुवा पेस्तोल र मोटरसाइकल बरामद गरिएको छ । प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार यी दुवै पेशेवर अपराधी हुन् । अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
