
पूर्णपुष्टि, साउन १ । जलवायु परिवर्तन र बढ्दो तापमानले भूकम्पको संख्या र तीव्रतामा वृद्धि गर्न सक्ने नयाँ अध्ययनले देखाएको छ। यद्यपि भूकम्प मुख्यतः टेक्टोनिक प्लेटहरूको गतिविधिबाट उत्पन्न हुन्छ, वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावले पनि भूकम्पीय गतिविधिलाई उत्प्रेरित गर्न सक्ने बताएका छन्।
क्यानडा र जर्मनीका भूकम्प वैज्ञानिकहरूका अनुसार तापमान वृद्धिले हिमनदी पग्लने र समुद्रको जलसतह बढ्ने प्रक्रियालाई तीव्र बनाउँछ। यसले पृथ्वीको माथिल्लो पत्रमा थप दबाब सिर्जना गर्छ, जसको परिणामस्वरूप भूकम्पीय गतिविधि बढ्न सक्छ।
विशेषगरी तटीय क्षेत्रहरूमा यो प्रभाव बढी देखिने अनुमान गरिएको छ। लस एन्जल्स र सान फ्रान्सिस्को जस्ता शहरहरूमा यस्ता भूकम्पको जोखिम बढी हुने बताइएको छ। वैज्ञानिकहरूका अनुसार आगामी केही दशकभित्र यस्ता भूकम्पहरू आउन सक्ने सम्भावना छ।
अध्ययनले हालको हरितगृह ग्यास उत्सर्जनको दरले आगामी एक हजार वर्षसम्म समुद्रको जलस्तर बढ्ने र यसले तटीय भूकम्पको आवृत्ति बढाउने चेतावनी दिएको छ। यसले गर्दा लामो अन्तरालमा आउने ठूला भूकम्पहरू अब छिटो–छिटो आउन सक्ने जोखिम बढेको छ।
