
पूर्णपुष्टि, ५ चैत्र ।
उदयपुरको पहाडी पालिकाको रुपमा रहेका ताप्ली गाउँपालिकाले सबै वडाहरुमा गुणस्तरीय पक्की वडा कार्यालय भवन निर्माण गरेको छ । ५ ओटा वडाहरु रहेका पालिकामा सबै वडाका लागि व्यवस्थित पक्की कार्यालय भवन निर्माण भैसकेको छ । पालिका अध्यक्ष ढुँगराज बिश्वकर्माका अनुसार भवन निर्माण भैसकेपनि औपचारिक रुपमा संञ्चालन भने भैसकेको छैन । पालिकाको १ नं वडा नुनथला, २ नं वडा लेख गाउँ, ३ नं वडा इनामे, ४ नं वडा ठानागाउँ र ५ नं वडा रुपटारमा वडाको लागि भवन निर्माण भैसकेको अध्यक्ष विश्वकर्माले जनाए । पालिकाको आफ्नै लगानीमा सबै वडाहरुमा भवन निर्माण भएपछि काम गर्न सहज हुने जनाईएको छ । हाल पुरानो भवनहरुमा काम कार्य भैरहेको भएपनि व्यवस्थित रुपमा गुणस्तरीय कार्यालय अभावले काम सेवा असहज भैरहेको अवस्था छ । वडा कार्यालयमा सेवाग्राहीहरुलाई दिईने सेवाको लागि आवश्यकीय भवनले कामलाई थप सहज र व्यवस्थित बनाउने वडाअध्यक्षहरुको भनाई छ । स्थानीय सरकारको दोस्रो कार्याकालमा अधिकांश भवनहरु निर्माण सम्पन्न गरिएको छ ।