
पूर्णपुष्टि, उदयपुर, जेष्ठ ३ गते ।
त्रियुगा नगरपालिकाका वडा नं १६ जाल्पा चिलाउनेले आफ्नो दोस्रो चौमासिक समिक्षा तथा स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा कार्यालय भवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । दोस्रो चौमासिक अवधिभित्र सम्पन्न भएका योजना तथा कार्यक्रमहरूबारे छलफल र गरिएको काम तथा योजनाहरुको प्रगति र उपलब्धि हरूको समिक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । वडाभित्रका टोल विकास संस्था, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक वन, गैरसरकारी संघसंस्था, सामुदायिक संघसंस्था लगायत स्थानीय सरकारवालाहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानीय सरकारवालाबाट समीक्षा कार्यक्रममा वडा कार्यालयलाई सल्लाह सुझाव प्रदान गरिएको थियो । सोही कार्यक्रममा वडा कार्यालयले वडागत स्वीकृत बजेट रकम रु ५० हजारबाट वडाभित्रका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो।

वडाको विकट भूगोलमा रही दिनरात स्वयंसेवकीय भूमिका निर्वाह गर्दै आईरहेका स्वयंसेविकाहरूलाई सम्मानपत्र सहित दोसल्ला उडाएर सम्मान गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकालाई फिल्डमा आवश्यक पर्ने सहायक सामग्रीहरू टर्च, छाता, झोला सहित विभिन्न सामग्रीहरू वितरण समेत गरिएको थियो। यस किसिमको सम्मान र आवश्यक सामग्रीले स्वास्थ्य स्वयंसेविकाहरू हर्षित भएको छ । स्वास्थ्य स्वयंमसेविकाको रुपमा काम गर्दै आईरहकी फुलमाया मगरले उक्त सामाग्रीले अझ फिल्डमा काम गर्ने ऊर्जा थपिएको बताउनुभयो । साथै लामो समय महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्य गरी विधाई हुनुभएका पाँचजना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत कदरपत्र सहित सम्मान गरिएको थियो ।

समीक्षा कार्यक्रममा वडा अध्यक्ष मानबहादुर राईले वडागत प्रोफाइल सहित प्रगति तथा उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो । उक्त प्रगति उपलब्धिहरू छलफल पश्चात् सुझाव सहित अनुमोदन गरिएको थियो ।
कार्यक्रममा उपस्थित महानुभावहरूलाई वडा सदस्य घमान सिंह राईले कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राख्नुभएको थियो। यसैगरी जिसस सदस्य श्री गोमा कार्कीले कार्यक्रमको सफलताको शुभकामना सहित आयोजक वडा कार्यालयलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन वडा सचिव विष्णुबहादुर तामाङले गर्नुभएको थियो भने वडा सदस्य घमान सिंह राई र वडा सदस्य रामनारायण श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो। यसैगरी जिसस सदस्य गोमा कार्कीले बालबालिकाको प्रतिभाको उच्च प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई छात्रबृत्ति तथा सम्मान कार्यक्रम
समिक्षा कार्यक्रमको भोली पल्ट वडा कार्यालयले आधारभूत विद्यालय तथा माध्यमिक विद्यालय तहको अतिरिक्त क्रियाकलाप कार्यक्रमको समेत आयोजना गर्यो । त्रियुगा नगरपालिकाको नगरसभाद्वारा स्वीकृत वडागत बजेट रकमहरू १ लाख बाट बालबालिकाहरूको लागि हाजिर जवाफ, वक्तित्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायत विविध प्रतियोगितात्मक कार्यक्रम राखी अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको हो। वडाभित्रका सबै सामुदायिक विद्यालयहरूको सहभागिता रहेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन वडा अध्यक्ष मानबहादुर राईले गर्नुभएको थियो । सो कार्यक्रममा वडाका जनप्रतिनिधि कर्मचारी लगायत विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको व्यापक सहभागिता रहेको थियो । वडाले प्रत्येक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएको छ। यसै कार्यक्रमसँगै वडाले स्थापना गरेको बाल अक्षय कोषबाट ५३ जना जेहन्दार बालबालिकाहरूलाई १ हजारको दरले छात्रावृत्ति वितरण गरिएको थियो भने आबको वडागत बजेट रकमहरू १ लाखबाट २४ जना मावि तथा उच्च शिक्षा हासिल गर्ने जेहनदार विद्यार्थीहरुलाई ३००० देखि ५००० सम्म छात्रवृत्ति वितरण गरिएको थियो । १४ जना विद्यार्थीहरुलाई जनही हजारको दरले छात्रवृत्ति वितरण समेत गरिएको थियो । यसैगरी वडाभित्रका विद्यालयहरुका उत्कृष्ट अभिभावक, शिक्षक, एसइइमा शतप्रतिशत उत्तीर्ण गर्ने विद्यालय, विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।
सहभागी विद्यालय तथा उत्कृष्ट विद्यार्थीहरुको नामावली यस प्रकारको छ ।

