
पूर्णपुष्टि, गाईघाट/असार १६ ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको पञ्चबर्षिय योजनाको लागि दुई दिने कार्यशाला सम्पन्न गरेको छ । वडा कार्यलयले गत आवदेखि वडाको पञ्चवर्षीय आवधिक योजना निर्माणको तयारी सँगै दुई दिवसीय कार्यशाला सम्पन्न गरेको हो ।
स्थानीय राजनीतिक दल, संघ संस्था, गैरसरकारी संघसंस्था, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वन उपभोक्ता समिति, अन्य सामुदायिक सङ्घसंस्था, महिला स्वयंसेविका, बाल क्लब लगायत सम्बन्धित निकायहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको छ । उक्त सहभागिताले योजना सफल बनाउन र योजना कार्यन्वयनका लागि सहज र सहयोग पुराउने वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिनुभयो ।

वडाले आर्थिक वर्ष २०८३/०८४–२०८८/०८९ सम्मको पञ्चवर्षीय आवधिक योजना निर्माणको खाका तयार गरेको पनि अध्यक्ष राईले बताउनुभयो। कार्यशालामा विभिन्न विषयगत समूहहरूको निर्माण गरी वडाको वर्तमान अवस्थाको विश्लेषण गर्दै आगामी पाँच वर्षसम्मको अपेक्षित उपलब्धि तथा सूचकहरूको निर्धारण गरिएको छ । कार्यक्रममा वडाको आवधिक योजना निर्माण पश्चात सबै सरकारवालाहरूबाट कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त भएको छ। विषयगत क्षेत्रहरूमा भौतिक पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, विपद तथा वातावरण विकास, सुशासन तथा संस्थागत क्षमता विकास लगायतका क्षेत्रहरूमा समूहगत छलफल गर्दै सुझावसहितको प्रस्तुतिकरण गरिएको थियो ।
कार्यशालाको सहजीकरण त्रियुगा नगरपालिकाको अधिकृत विश्वजित राईले गर्नुभयो । कार्यक्रमको उद्घाटन वडाअध्यक्ष मानबहादुर राईले गर्नुभएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि कर्मचारीहरूको अनिवार्य उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य घमान सिंह राईले स्वागत मन्तव्य राख्नुभएको थियो । वडा सदस्य समेत रहेकी जिसस सदस्य गोमा कार्कीले भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन सब इन्जिनियर विष्णु बहादुर तामाङले गरेका थिए । वडाको यस आबमा स्वीकृत ७५ हजार वडागत बजेटबाट कार्यक्रम आयोजना गरिएको हो ।
कार्यशालाबाट तयार भएको आवधिक योजनाको खाका माथि विषयगत विज्ञहरूको सल्लाह सुझावहरू समेत लिएर पञ्चवर्षीय आवधिक योजनालाई अन्तिम रुप दिइ पुस्तकको रूपमा प्रकाशन गरी सरोकारवालाहरुलाई वितरण गरिने वडा कार्यालयले जनाएको छ ।
कार्यशालामा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका वडा सभापति लोकबहादुर राई र नेपाली कम्युनिस्ट पार्टी का वडा पार्टी अध्यक्ष गङ्गा बस्नेतले आवधिक योजना वडाको सम्पत्ति भएकोले यो कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको भएकोले कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

