Friday, February 14News That Matters

त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

पूर्णपुष्टि, पुष ११ । त्रियुगा नगरपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीस्थित जनता माध्यमिक विद्यालयको खेलकुद मैदानमा आयोजित प्रतियोगिताको पहिलो दिन तीन विधाका खेलहरू सम्पन्न भएका छन् ।

पहिलो दिन १५ किलोमिटर दौड, कबड्डी र भलिबल खेल सञ्चालन गरिएको थियो। पुरुषतर्फको १५ किलोमिटर दौडमा जनता माध्यमिक विद्यालय श्रीपुरका सोनम परियार प्रथम भएका छन् । जनता माध्यमिक विद्यालय दमौटीका अगम बहादुर वानिया दोस्रो र जनज्योति माध्यमिक विद्यालय चुहाडका बसन्त दनुवार तेस्रो भएका छन् । महिलातर्फको १५ किलोमिटर दौडमा प्याराडाइज अंग्रेजी बोर्डिङका चिना राईले प्रथम स्थान हासिल गरेकी छन् । बालमन्दिर माध्यमिक विद्यालयकी पवित्रा कटुवाल दोस्रो र त्रियुगा माध्यमिक विद्यालयकी यमुना परियार तेस्रो भएकी छन् ।महिला र पुरुष दुवै वर्गको कबड्डी र भलिबल खेलको फाइनल नतिजा आईसकेको छैन् । यस खेलको नतिजा भोली आएपछि तेक्वादो र कराते खेल खेलाईने आयोजकले जनाएको छ । यसअघि सम्पन्न भएका सांस्कृतिक तथा अन्य कार्यक्रमहरूको अंक पनि जोडेर विजेता टोली छनोट गरिने छ । नगरपालिका क्षेत्रभित्रका ३७ वटा सामुदायिक र संस्थागत विद्यालयहरू सहभागी भएको यो प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।