Thursday, May 21News That Matters

त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३ जेठ ९ र १० गते हुने

पूर्णपुष्टि/ उदयपुर, जेठ ७
उदयपुर जिल्लामा जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता “त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३” आयोजना हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा प्रतियोगिता जेठ ९ र १० गते गाईघाटस्थित उदयपुर जिल्ला ब्याडमिन्टन संघको कभर्डहलमा सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन उदयपुरका अध्यक्ष किशन राईले  जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष तथा महिला विधामा खेल सञ्चालन हुनेछ। पुरुषतर्फ प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फ प्रथम पुरस्कार १२ हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले जेठ ७ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने सहभागी खेलाडीहरूलाई जर्सी उपलब्ध गराइनेछ।
प्रतियोगिता BWF तथा NBA को नियमअनुसार सञ्चालन गरिने जनाइएको छ। खेलमा YONEX MAVIS 350 शटल कक प्रयोग गरिनेछ। साथै खेलाडीहरूले आफ्नो खेल सुरु हुनुभन्दा ३० मिनेटअघि खेल हलमा उपस्थित हुनुपर्ने नियम राखिएको छ।
आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास गरिएको छ। प्रतियोगितालाई त्रियुगा नगरपालिकाले प्रायोजन गरेको छ।