Saturday, April 26News That Matters

त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

पूर्णपुष्टि, ३० माघ ।
त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमले वडाको बिभिन्न ४ ओटा महत्वपूर्ण सडक निर्माण गर्ने छ । उक्त कार्यक्रमको आयोजनाले वडा स्थित कुसुमटार धौरी कृषि सडक निर्माण, बरुवा खोला अकर सिम्ले कृषि सडक निर्माण, भोर्ले सिदाली कृषि सडक निर्माण र डिहिटार अम्वोके सिद्रे डहर खोल्सी कृषि सडक निर्माण गर्ने भएको छ ।

त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रकी संयोजक निशा घलेले वडाको अम्वोकेबाट कार्यक्रम सुभारम्भ गरेको जनाईन् । बिभिन्न ४ ओटा स्थानमा निर्माण गरिने सडकहरुको एकै ठाउँबाट औपचारिक रुपमा सुभारम्भ गरिएको हो । घलेका अनुसार ४ ओटा सडक निर्माणका लागि ३४ जना श्रमीकहरुलाई रोजगार दिईएको छ । दिनको ६६८ रुपयाँको दरले दिईने पारीश्रमीक ज्यालाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २२ लाख ७१ हजार २ सय र वडाबाट २ लाख गरी जम्मा २४ लाख ७१ हजार २ सय बजेट बिनियोजन गरिएको छ । जसमा श्रमीकहरुले सय दिन काम गर्नु पर्नेछ । सय दिनमा तोकिएको सडको निर्माण गरिसक्नु पर्ने र सोही अनुसार रोजगार केन्द्रले पारिश्रमिक व्यवस्था गर्ने छ ।

घलेले विकास गर्नु पर्ने ठाउँ र रोजगार दिनु पर्ने श्रमिकहरु धेरै रहेको जनाईन् । उनले श्रमीकहरुलाई सय दिन मात्रै नभई ३६५ दिन नै रोजगार दिन सरकारले निति नै बनाउनु पर्ने जनाईन् । श्रमीकहरुलाई सँधैको लागि रोजगारको व्यवस्थापन गर्दै गाउँको विकास गर्न स्थानीय सरकारले श्रमिक र रोजगारको निति निर्माण गर्नु पर्ने घलेको भनाई छ । यस कार्यक्रमले गाउँको विकास सँगै रोजगारको अवसर प्रदान गरेको घलेले बताईन् ।

१६ नं का वडा अध्यक्ष मान वहादुर राईले श्रमको सम्मानले देशको विकास छिटो हुने जनाए । यस कार्यक्रममा श्रमको सम्मान र रोजगगारको सिर्जना गरिएको उनको भनाई छ । काम र रोजगारले गरिवी, बेरोजगार र पछाउटे पन जस्ता समस्यालाई हटाउने जनाए ।

कार्यक्रममा श्रमीकहरुलाई परिचयपत्र, ड्रेस प्रदान गर्नुका साथै काम गर्दा अपनाउनु पर्ने कुराहरुमा सचेत तथा अभिमुखीकरण गराईएका थिए । कार्यक्रममा वडा नं ८ र ११ का वडाअध्यक्ष तथा रोजगार सेवा केन्द्रका स्थानीय निर्देशन समितिका सदस्यहरु सुमन्त कोईराला र राजकुमार राउत सँगै उद्योग तथा सहकारी विभागका प्रमुख विश्वजित राई, आर्थिक लेखा परिक्षणका अधिकृत एक राज राउत, इन्जीनियर रमेश ढुँगाना, जिन्सी शाखा प्रमुख रोनिशा खतिवडा लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सुभारम्व कोईराला, राउत र १६ नं वडाअध्यक्ष राईले संयुक्त गरेका थिए ।