
पूर्णपुष्टि/गाईघाट, असार २६ ।
जेनजी युवा नेता निमेस राईले उदयपुरको त्रियुगा नगरपालिका ७ वडा कार्यालयको कर्मचारीहरु कार्यालय समयभर कर्मचारी नबसेकोमा खबरदारी गरेका छन् । दुईदिन अघि वडा कार्यालय पुगेर उनले कार्यालयमा कर्मचारीहरु नभएपछि खबरदारी गरेका हुन् ।
सेवाग्राही नआएको बाहानामा कर्मचारीहरु कार्यालय छाडेर घर गएको पाएपछि उनले खबरदारी गरेका हुन् । सरकारले विहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकेको छ । दिउसो दुईबजेतिर कार्यालय गएका उनले कार्यालय समय सकिनु अघि नै केही कर्मचारीहरु कार्यालय छाडेर बाहिरीसकेको पाए पछि खबरदारी गर्दै सामाजिक सञ्जालसमेतमा आवाज उठाएका थिए ।
जनताको सेवामा खटिएका कर्मचारीहरु विभिन्न वाहानामा कार्यालय समयमा घर जान नहुने उनको भनाई छ । सरकारी कर्मचारीहरु कार्यालयमा आफु खुसी आउने जाने भएमा सेवा प्रवाहमा असर पर्ने उनको भनाई छ । हरेक नागरिकले यसको खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनको यो कामप्रति धेरैले सराहना र प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनलाई कमेन्ट गर्नेहरुले खबरदारीको राम्रो काम गरेको बताएका छन् । कतिपयले भने मिश्रित प्रतिक्रियासमेत दिएका छन् ।
वडा सचिव प्रतिमा सुरुवालले जेनजी युवा राईले गरेको खबरदारी सकारात्मक भएको तर कर्मचारी के उद्देश्यले कार्यालय बाहिर निस्किए भन्ने कुरा बुझ्न जरुरी रहेको बताइन् । उक्त दिन वडाको चारजना कर्मचारी मध्ये दुईजना कार्यालयमै रहेको र आफुसहित दुईजना कार्यालयको काम विशेषले नै बाहिर रहेको उनलेबताइन । असार मसान्तको बेला भएकोले भुक्तानी लगायतका कामले बाहिर गएको भनाइ उनको छ । वडाध्यक्ष अमर दनुवारले कर्मचारीहरुका कारण वडामा सेवा प्रवाहमा कुने असर नरहेको बताए । नागरिक तहबाट गरिएको खबरदारी राम्रो भएपनि बुझेर गर्नुपर्ने उनले बताए । वडामा सेवा प्रवाहको सन्दर्भमा जनप्रतिनिधि र कर्मचारीप्रति वडाबासीको गुनासो नआएको उनको भनाई छ ।
सेवा प्रभाव थप प्रभावकारी बनाउन र कर्मचारीको थप जिम्मेवार उपस्थितिका बारेमा वडाध्यक्षसंग युवाहरुको समुहले भेटेर थप कुरा गर्ने तयारी रहेको जेनजी युवा नेता राईले बताए ।
