
पूर्णपुष्टि, बैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ५ देउरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । यही बैशाख २४ गते स्वास्थ्य चौकी देउरीमा ५ नं वडाले आयोजना गर्न लागेको शिविर विराट मेडिकल कलेजको प्राविधिक टोलीको बिशेष सहयोगमा सञ्चालन हुने भएको छ ।
अस्पतालका सूचना तथा संचार अधिकृत कैलाश भट्टराईले आईतबार आयोजना हुने शिविरमा मुटु, पाठेघर, छाला तथा यौन रोग, नाक, कान, घाँटी, दम सम्बन्धि भिडियो एक्सरे, फिजिसियन, इसिजी, इको सेवा प्रदान गरिने बताएका छन् । आधा दर्जन विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा सेवा दिईने भट्टराईले बताए ।
वडा अध्यक्ष उद्धव थापाले गाउँघरमा लुकाएर राखिएका विरामीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने हेतुले शिविरको आयोजना गर्न लागिएको बताएका छन् । ५ नं वडा बाहेकका अरु वडाका नागरिकहरुले समेत शिविरबाट सेवा लिन सकिने उनले बताए । खासगरी गरिब जनता जो उपचारको लागी खर्च नभएका रोगीहरुलाई स्थानीय स्तरमा नै सेवा प्रदान गर्ने शिविरको लक्ष्य रहेको उनको भनाई छ ।
