Wednesday, April 22News That Matters

दोस्रो 7A साईड फुटबलमा दमौटी र डेडीको विजयी सुरुवात

पूर्णपुष्टि, साउन १० । दोस्रो 7A साईड फुटबल प्रतियोगितामा दमौटी फुटबल क्लब र डेडी फुटसल क्लब मोतिगडाले विजयी सुरुवात गरेको छ । बिहिबार बोक्सेस्थित गंगा खेल मैदानमा भएको उद्घाटन खेलमा दमौटी फुटबल क्लबले 11 star फुटबल क्लब बाबरीलाई २–० गोलले पराजित गर्‍यो।

खेलको ४५ औं मिनेटमा जर्सि नं. ११ का (कप्तान) पविन राईले गोल गर्दै दमौटीलाई आग्रता दिलाए भने खेलको अन्तिम औं मिनेटमा जर्सि नं. ८ का असिम राईले गोल गर्दै जित सुनिश्चित गरे। यस प्रतियोगिताको म्यान अफ द म्याच असिम राई बने । उनले नगद रु १ हजार सहित मेडल र ट्रफी प्राप्त गरे ।त्यस्तै दोस्रो खेलमा डेडी फुटसल क्लब मोतिगडाले स्वर्णिम युवा क्लब जलजलेलाई टाईब्रेकरमा ५–४ गोलले हरायो। निर्धारित समयमा गोलरहित बराबरी खेलपछि टाईब्रेकरमा डेडी फुटसलका जर्सि नं. १६ का सुजन घिमिरे, जर्सि नं. ९ का प्रज्वल हमा, जर्सि नं. ५ का निखिल ठकुरी, जर्सि नं. १३ का प्रकाश हमाल र जर्सि नं. ११ का संघम मगरले गोल गरे । त्यस्तै स्वर्णिम युवा क्लबकाका लागी जर्सि नं. ७ का बिशाल चौधरी, जर्सि नं. ९ का योगेश बिष्ट, जर्सि नं. १२ का नर्बु तामाङ र जर्सि नं. १३ का असिम राईले गोल गरे भने जर्सि नं. ७ का सुबिन खड्काले गोल गर्न सकेनन् ।

दाजुभाई समुह फुटबल क्लब र दाजुभाई समुह (दोहा कतार) ले “सम्बन्ध हाम्रो सबैभन्दा राम्रो, समाजिक कार्यलाई अगाडी बढाउने जिम्मेवारी हाम्रो’’ भन्ने मूल नाराका साथ यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल र ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टिमले शिल्ड, मेडल र २० हजार नगद पुरस्कार हात पार्नेछ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले गंगा खेल मैदान विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले खेलकुदको महत्व र युवाहरूको शारीरिक तथा मानसिक विकासमा यसको भूमिकाबारे जोड दिनुभयो। साथै, स्थानीय स्तरमा खेलकुद प्रतियोगिताहरू आयोजना गर्नुको महत्व बताउँदै यस्ता कार्यक्रमले समुदायमा एकता र सद्भाव बढाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो। उपसभामुख दनुवारले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको र आगामी दिनमा थप पूर्वाधार निर्माण र प्रतिभा विकासका कार्यक्रमहरू ल्याइने आश्वासन दिनुभयो।