नियात्रा मिरिक-दार्जिलिङ्ग संक्षिप्त यात्रा : सघनअनुभूति

पुण्य कार्की
मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केहीक्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्र पनि शान्ति र ध्यानको वीज रोपिदियो । लाग्यो घन्टौ त्यहि जंगलमा हराऔँ । घण्टौँ तपस्यामा लीन रहूँ । तर, मलाई त्यसको लागि अवकाश थिएन । साथी पछयाउनुको वाध्यता र हतारो थियो । यहाँबाट दार्जिलिङ्ग साठी किलोमिटर दूर छ । यहाँका मनरम र कलात्मक चियावगान सुन्तलावगैँचा, हरियाली वनपर्वत, तलाउ र पोखरी जतिघुमेर पनि म अघाएको थिइनँ । मिरिक लेकनामको प्राकृतिक तालमा नौकाविहार चलिरहेको छ । धुपी–वृक्ष वनको वीचभागमा अवस्थित यस तलाउको वरिपरि साढे तीनकिलोमिटर घेराबन्दी छ । जहाँ तरहतरहका घोडाहरु तैनाथ छन् घोडसवार गर्नेका लागि । हामीले हिँडेरै आनन्द लियौँ । त्यहाँको रमिते डाँडाबाट नयनाभिरामहिमशृङखलाको दृश्य देखिँदो रहेछ । दक्षिणपूर्वको डाँडामा अवस्थित बौद्ध गुम्वामा पुगेर फेदीका चीजहरुलाई उचाइबाट देख्ने प्रयत्न गरियो । तर पहाडी खोँचको बाटोबाट ओर्लिने क्रममा विदुर पाठकजी लड्नु भएछ । त्यस्तो गम्भीर चोटपटक चाहिँ नलागेकोले हामी ढुक्क बन्यौँ । त्यहाँको पोखरीमा राता माछाहरुले मुराई र पाउरोटी खाएको दृश्य साँच्चै चकित लाग्ने किसिमको थियो । पर्यटकको बराँम त मैले त्यहीँ देखेंँ । सानो सुन्दरपोखरी बनाएर माछा हालिदिएको छ । वरिपरि दर्विलो घेराबन्दी गरिदिएको छ ।माथिपुल कसेर हेर्ने, अवलोकन गर्ने, फोटो खिच्ने तारतम्य मिलाइ दिइएको छ । तिनलाई हेर्न दिनको हजारौँं मान्छेहरु आउँछन् त्यहाँ । पाउरोटी पशल चलेको छ । चामल र मुराइ पसल चलेको छ । दाना र पिठो पसल चलेको छ । ती सबै माछालाई चारो दिन र माछा नाँचेको हेर्न मान्छेले पोकाकापोका किन्ने गर्छन् । नजिकै नास्ता दोकान, चिया दोकान, चटपटे दोकान चलिरहेका छन् । ती पसलहरुले पर्यटकहरुको दैनिक लाखौं रुपैयाँ झारिरहेका छन् । एउटा भिजन र दूरदृष्टि भएको नेतृत्व हुँदा पर्यटन क्षेत्रमा चामत्कारिक विकास हुँदो रहेछ ।अवछरिएका साथीहरु समेटिएर दर्जिलिङ्गतर्फको बाटो तताउनु थियो । हिँड्ने बेलामा गीताजी हराउनु भयो । निकै खोजी चल्यो । भरे उहाँ त छोरीलाई डुंगाशयर गराउन जानु भएको रहेछ । समूहमा गरिने यात्रामा यस्ता प्रतिकूल घटनाहरु पनि खेप्नुपर्छ । मेरो दार्जिलिङ्गप्रतिको आत्मिक अनुराग साहित्य अध्ययनसित जोडिएको छ । विद्यालय, महाविद्यालय र विश्वविद्यालयका नेपाली विषयका पाठ्यक्रममा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारशमणि प्रधान, शिवकुमार राई, इन्दबहादुर राई, पारिजात, रामकृष्ण शर्मा, अगमसिंह गिरी, रुपनारायण सिंह, अच्छा राई रसिकहरुलाई कुनै न कुनै रुपमा पढ्नुपर्यो । यी सबै साहित्यकारहरु कुनै न कुनै रुपमा दार्जिलिङ्गसित जोडिएका थिए । चाहे त्यो जन्मको हिसाबले होस्, चाहे कर्म र सिर्जनको हिसाबले होस् । दार्जिलिङ्गको माटोको सुगन्ध पिएर उनीहरुको साहित्य लहराएको थियो । त्यसैले नेपाली साहित्यको अनुरागी पाठक हुनुको नाताले मेरो निम्ति दार्जिलिङ्ग एक तीर्थभूमि थियो । जीवनका बयालीसौँ वसन्त बितिसक्ता पनि दार्जिलिङ्ग पुग्न पाएको थिइन । तर यसपालि विद्यालयबाट तीनदिने शैक्षिक अवलोकन भ्रमणमा मिरिङ दार्जिलिङ्गजाने योजना बन्यो ।

हामी २०६९ चैत २८ गतेका दिन विहान विद्यालयकै प्राङ्गणमा जम्मा भएर रिजर्व वसमा दार्जिलिङ्ग प्रस्थान गरयौँ । इलाम, मिरिक र दार्जिलिङ्ग घुम्ने योजनाका साथ हामी यात्रामा निस्केका थियौँ । कोशी व्यारेजमा पुग्दा खानाखाने समय भैसकेको थियो । प्रायः सवै साथीहरुको मनशाय कोशीका माछासित भात खाने योजना बनेकाले हामी सवैजनाले होटलमा बाँडिएर खाना खायौंँ । त्यसपछि इटहरीमा थोरैवेर आवश्यकीय सामाग्री किनमेल गर्नमा अवेर गरियो । त्यसपछि सरासर इलाम उक्लियौँ । इलामको प्राकृतिक सुन्दरतालाई नियाल्दै ठाउँठाउँमा गाडीबाट ओर्लेर अवलोकन गर्दै बेलुकीपख इलामबजार पुग्यौँ । हामीसित केही समय अझै बाँकी थियो । बजार घुम्ने र डाँडामाथि चढेर इलामका टाढाटाढाका सुन्दर गाउँका नयनाभिराम दृश्यहरु आँखाभरि कैद गरयौँ । हाम्रो २८ जनाको यात्रादल थियो ।सबैजना एउटै होटलमा बस्यौँ । तर भोलिपल्ट हिँड्ने बेलामा होटलवालासित थोरै ठाकठुकपरयो । बेलुकीको खानामा अठ्ठाइस जनामध्ये चारजनाले मासु खानु भएको थिएन तर उसले २८ जनाले नै खाएको जिद्दीगरयो । चार जनाको फाजिलमा पैसालिएरै छोड्यो । झगडा गर्नुभन्दा निचमनोवृत्तिको मान्छेलाई पैसा तिरिदिनु नै उचित ठान्यौँ । इलामछाड्नु अघि रेणुलाई फोन गरेँ । आमाछोरी (रेणु र अशु) काठमाण्डौ पुगेछन् ।पर्सि ३१ गते छोरी (अशु) को एडमिशनको लागिइन्ट्रन्स इक्जाम (प्रवेश परीक्षा) हुनेवाला छ । त्यसैको लागि रेणुले लिएर गएकीछन् । उनीहरु सकुशल काठमाण्डौ पुगेको खवरले मन ढुक्कभयो । इलामबाट माइखोला ओर्लियौँ । त्यहाँ हिमाल दोलखाहाइड्रोपावर कम्पनीले उत्पादन गरेको जलविद्युत आयोजना हेरयाँ । त्यसपछि सरासर पशुपतिनगर पुगियो । होटलमा खाना खाइयो ।अमित भाइलाई भेट्यौँ र मिरिक दार्जिलिङ्ग टुरको लागि प्याकेज कार्यक्रममा सहमती गरियो । तीनवटा स्कारपियो गाडीमा मिरिकतिर झरयौँ । पश्चिम बंगालमा पर्ने यो नगरी मान्छेको अतिशय र भीडभाडबाट टाढा रहेको अनुपम शान्ति र सुन्दरताले सिँगारिएको नगरी थियो । बान्की परेका कलात्मक चियावगानको विचित्र सुन्दरता नियाल्दै मन्दमन्द चिसो मिठो पवन झोँक्कासित मितेरी लाउँदै हाम्रो यात्री–दल दार्जिलिङ्ग सोझियो । सिमानामा पुगेर एकचोटि मानेभञ्ज्याङ्गलाई हेरियो । जहाँ पटकपटक नेपाली सीमाना चिथोरिएको थियो । नेपाली राष्ट्रियतामा नदुख्ने घाउ लागेका छन् मानेभञ्ज्याङ, सुस्ता महेशपुरम र कालापानीमा । नेपाली शासकहरुको कायर र हुतिहारापनले हो कि के कारणले हो भारतसितका विवादित सीमा समस्याहरु अहिले पनि हलहुन सकेको छैनन् ।

हामी सिमानाको वीचैवीच दौडिरहेका छौंँ । सडकमा दायाँतिर भारत वाँयातिर छ नेपाल । ठाउँठाउँमा व्यापार चलिरहेको छ । चिहानघारी माथि बसेर व्यापार गरिरहेका छन् । चियाबेच्ने नेपाली महिलाको स्वभाव अत्यन्तै फरासिलो छ । जंगलवीच रहेको जोरपोखरी पुगियो । त्यो कृत्रिम पोखरी हेर्न पनि मानिसहरु आउँदा रहेछन् । सीमानाबाट बतासेडाँडो आउँदाखेरी हुस्सु, कुहिरो, र सिमसिमपानीले हामीलाई ठुकठुक कमाइरह्यो । कारण आफ्नो ठाउँमा प्रशस्त गर्मी बढेको कारण हामी पातला कपडा लाएर यात्रामा निस्केका थियौँ ।
बतासीयालूप (बतासे डाँडो) बाट पाँचकिलोमिटर दूरीमा दार्जिलिङ्ग । युद्धमा सहादत प्राप्त गर्ने वीर गोर्खाहरुको स्मृतिमा बनेको छ यो सुन्दर पार्क । यहाँबाट दार्जिलिङ्गका निकै ठाउँहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । दूरविनबाट नजिकल्याएर पनि चियाउन सकिन्छ । वतासे डाँडाबाट घुममा रहेको वौद्धगुम्वा छिरयौँ । बुद्धदेवको दर्शन अवलोकन र फोटो सेशसन पछि न्यानाताता लुगा पसलमा पुग्यौँ । जाडोले हामीलाई निकै लुगलुग कमाइसकेको थियो । साथीहरुले पनि सुइटर ज्याकेटहरु किन्नु भयो । मैले पनि सुइटर र बर्काे किनेँ ।

धुपी सल्लाको सुन्दर वनकुञ्ज हेरेर पारिजात दिदीको “धुपी सल्लाको फेदमा”भन्ने कृति याद आयो । त्यो संस्मरणात्मक कृतिमा अत्यन्त सजीवढंगले दर्जिलिङ्गको धुपी सल्लाको वनको वर्णन छ । आज पनि पारिजातले चहारेको वन यथावत देखेँ । प्राकृतिक सुन्दरताको असीम जादूले मलाई भित्रैबाट छोएको थियो ।
कञ्चनजंघा हिमालय क्षेणीको काखमा अवस्थित दार्जिलिङ्गशित लठण्डा जलवायू भएको अत्यन्त मनोरम पर्यटकीय स्थल हो । यहाँ भारत, नेपाललगायत विश्वभरिको शैलानीहरु गर्मी सिजनमा उक्ँलिदा रहेछन् । तातो प्रदेशका मान्छेहरु आफ्नो ठाउँको प्रचण्ड गर्मी छल्न पनि यहाँ आँउदा रहेछन् । सस्तोमा पाँच सयदेखि महंगोमा ५६ हजारसम्मप्रति वेडका होटलहरुमा टुरिस्टहरु बाह्रै महिना खचाखच भरिने भएकोले पनि हाम्रो होटल अमितजीबाट अग्रिम रुपमा बुकिङ भैसकेको थियो ।

हाम्रो गाडी सरासर ब्लु डायमण्ड होटलमा पुग्यो ।होटलमा झोला थन्क्याएर पूरै समूह दार्जिलिङ्गबजार घुम्न निस्कियौँ । फुटपाथमै पोलेका मकै र अन्य चनाभुजा चटपटे खाइयो । मैले चाहिँ मकै खाए ।केही साथीहरुले लुगाफाटो खरिद गर्नुभयो । त्यहाँको पुरानो मालरोड बजार परिक्रमापछि भगीरथ सर, दिलबहादुर सर र म चाहिँ नास्ता गर्नको लागि एक रेष्टुराँमा पस्यौंँ । राती होटल आएर खानपिन गरियो । टि.भि. हेरयौंँ । रु. पचासमा किनेको अति सस्तो टाउजर रामबहादुर र कीर्ति सरले लाउँदा लाउँदै च्यातिएपछि खुव हाँसियो । सस्तो बेसाहाले पखाला चल्छ भन्ने उखान प्रमाणित भयो । त्यो रात रमाइलो र हाँसी मजाक गर्दै सुतियो ।
भोलिपल्ट २०६९ चैत ३० गते जागरण/स्नानपछि चारबजे नै सूर्याेदयको दृश्य हेर्न टाइगर हिलजाने योजना मुताविक तयार भयौँ । त्यहाँबाट कञ्चनजङ्गा पर्वतश्रेणीलाई नियाल्न पाँइदोरहेछ । एक भव्य भ्यू टावर पनि रहेछ । एकाथरि यात्रुहरुले टिकट काटेर भ्यूटावरमा चढी सूर्याेदयको दृश्य हेर्दा रहेछन् । एकातिर खुल्लाडाँडाबाटै निशुल्क त्यो दृश्य हेर्दा रहेछन् ।
मलाई भने निगालो बाँसको घनाजंगलले मन लोभ्यायो । त्यही जंगलभित्र घुसेर पेट साफ गरें । नेपालीमूलका अनेक युवतीहरु मिठो आवाजमा चियाका थर्मस बोकेर विहानविहानको चिया सेवामा हाजिर हुँदा रहेछन् । मिठो कफी पिएँ । सिक्किम, दार्जिलिङ्ग र भुटानका विषयमा लेखिएको केही पुस्तकहरु किनेँ । त्यसपछि घुम रेलवे स्टेशन आइयो । भारतको सर्वाधिक उचाइमा रहेको यो रेलवे स्टेशन अंग्रेजकै पालामा निर्माण भएको हो । हुन त दार्जिलिङ्ग शहर आफैंमा समुद्र सतहबाट दुईहजार बयालीस मिटरको उचाइमा अवस्थित छ । त्यसैले त यो ठाउँ कहिल्यै गर्मी नहुने शितल र ठण्डी हावापानीको लागि प्रख्यात छ । नेपालका स्वर्गीय राजा विरेन्द्रले अध्ययन गरेको सेन्ट जोसेफ स्कुलको अवलोकन गर्ने इच्छा जीवितै थियो । हामी नर्थप्वाइन्ट सेन्ट जोसेफ स्कुल छेउमा आएर त्यो भव्यविद्याको मन्दिरलाई नियाल्यौं । यसै स्कुलबाट नेपाली बौद्धिक आकाशका अनेकन प्रतिभाहरुले ज्ञानदान लिएको कुरा स्मरण गरें । त्यहाँबाट तेन्जिङ नोर्गे रक क्लाइम्विङको दृश्यपानगरयौं । त्यसपछि विहानीको खाजाको लागि खाजा खाने थलोमा गयौँ । अण्डा, पाउरोटी र चिया खाएर चिया वगानका अनुपम दृश्यहरु अवलोकन गरयौँ ।
अब हाम्रो योजना मालबजारबाट दुई किलोमिटरको दूरीमा रहेको चिडियाखाना हेर्नु थियो । चिडियाघरमा अनेकन जनावरहरुलाई नजिकबाट हेरयौँ । जनावरका आँखा र अनुहारमा एक निर्दोष निर्मल भाव तरंगित भएको पाएँ । मान्छेको आँखामा एक कलुषता छ । मान्छेको अनुहारमा एक कुटिलता छ । तर पशु अझै पनि प्राकृत निर्दाेषपनामा बाँचेको छ । अझ मान्छेको अधिनमा परेर थुनिएको जीव देख्ता हृदयमाअसीम करुणाभाव उर्लेर आउँछ । गिताजीले फेरि निषिद्ध एरियामा क्यामेरा झिकेर फोटो खिचिदिनु भएछ । पहरेदारले क्यामेरा खोसिदिएछ । नियमको अवज्ञा गर्नाले केहीवेर दुःख पाइयो । त्यसपछि तेन्जिङ नोर्गेको समाधिमा पुगियो । उनीप्रति श्रद्धासुमन अर्पण गर्दै उनको नामको म्यूजियम उनीसित सम्बन्धित-पर्वतारोहणसँग सम्बन्धित अनेकन बस्तुहरुको अवलोकन गरियो ।
आजै हामी नेपाल फर्किेन योजना थियो । सुकेपोखरी आएर केहीवेर विश्रामगरयौं । त्यहाँका सुतार कार्की दाइसित भेटघाट भयो । उनीसित केहीवेर कुराकानी गरें । नेपालीको जनजीवन त्यहाँको खेतीपाती प्रणाली र शिक्षाको व्यवस्थाको विषयमा मनका केही खुलदुलीहरु राखेँ ।

धुपी र निगालो घारीको सुन्दरतामा विभोर वन्दै पशुपतिनगर आइपुगियो । त्यहाँ खाना खायौं । हिसावकिताव छिनोफानो गरियो । हामीलाई समयले छोडदै थियो, गाडीवालाको हुटहुटीले पनि हामीलाई त्यहाँ लामो समय विलम्व गर्न दिएन । बरु फिक्कलबजार आएर छुर्पी र अकवरे खोर्सानी किन्नको लागि गाडी रोकियो । यात्रामा मैले भारत बरु रसिलो हुँदै गरेको देखेँ । भारत बरु हरियो भरिलो देखें । नेपालतर्फ त उजाडमात्र होइन, फुंग उडेको अनुहार देखें । यस कुराले मेरो मन भित्रभित्रै खिन्न बन्यो । अविकास र अनीतिको सन्नासोले आमा नेपाललाई किन यसरी च्यापिरहेको छ ? मनमा एक आक्रोश उम्लियो ।
पशुपतिनगरको सीमापारी पनि नेपाली छन् । सीमावारि पनि नेपाली नै छन् । एउटै भाषा, भेष, जाति, संस्कृति र वंश परम्पराका नेपाली दुईटा राष्ट्रियतामा विभक्त छन् । तर शिक्षामा, सम्पन्नतामा, सभ्यतामा, विकासमा आचारविचार र विनम्रतामा भारतीय नेपालीहरु हामी भन्दा एक कदम अगाडि रहेको अनुभूति मिल्यो । तर आजको युवापुस्ताले दार्जिलिङको पुरानो विरासतलाई बुझेको छ भन्ने कुरामा मलाई शंकै लाग्यो । हाम्रो कार हाँक्ने दार्जिलिङकै स्थानीयवासी ड्राइभर भाइलाई साहित्यकार इन्द्रबहादुर राईको बारेमा थाहा छ ? भनी सोधेँ । उसले अनभिज्ञता जनायो । अमर गुरुङ र पारिजातलाई चिन्दै नचिन्ने पुस्ता पनि भेटियो । मनप्रसाद सुब्बा र लख्खिदेवी सुन्दास को त के कुरा गर्नु र ? के.सी. सरको अति आग्रहको कारण चारआलीबाट वितामोर्डतर्फ मोडिनु पर्ने वस धुलावारी तर्फ लाग्यो । उहाँले छोरीज्वाइसित भेटघाट गर्नुपर्ने रहेछ । हामीलाई पनि केहीक्षण भएपनि धुलावारी बजार रमण गर्ने अवसर मिल्यो । मैले पनि चप्पल किनें । त्यसपछि भने हामी सरासरी कोशी व्यारेज आइपुग्यौँ । दिउँसो पशुपतिनगरमा सेवन गरेको भोजनले ठाउँ छोडिसकेको थियो । कोशी व्यारेजमा सामूहिक रुपमा नास्ता खाएर बर्मझिया आइपुग्यौँ । घरका नानीबाबुहरुलाई सौगाता स्वरुप पेडा खरिद गरियो । राति १० बजे आरामले हामी आआफ्नो घर आइपुगियो । पिताजी र निरजंगलाई पेडा खुवाएर रात्रिविश्राममा ओछयानभित्र पसे । समग्रमा मिरिक दार्जिलिङ्गयात्रा अनि छोटो दिनको यात्रा थियो तर त्यति नै सघन र जीवन्तयात्रा थियो त्यो । स्मृतिमा कहिल्यै ओझेल नपर्ने दृश्य र अनुभूतिहरु हृदयपत्रमा चकाचक भरिएका छन् । तिनलाई म फुर्सदको बेला पुरानो अल्वमकापाना पल्टाएर हेरे झैँ ओल्टाई पल्टाई गरिरहन्छु । यसले म भित्र आनन्दको एक तरंग भर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: