
पूणपुष्टि, माघ ९ गते । नेपाल टी–२० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । लिग आयोजना गर्न दिईएको भारतीय थ्री स्पोर्टस कम्पनीका मालिक जतिन अलुवालिया हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० लिग भारतीय कम्पनीलाई आयोजना गर्ने जिम्मा दिएको थियो ।
टि–२० लिग पुष २८ गते बाट सुरु भएको थियो । सुरुवात खेल देखिनै लिग विवादमा तानिएको थियो । लिग सुरू हुनु अघिदेखि नै बेटिङ (बाजी) र स्पट फिक्सिङको आशंकामा घेरिएको थियो । लिग चलिरहँदा सिआइबीमा उजुरी परेपछि डिएसपीको नेतृत्वमा अनुसन्धान बढाईएको थियो ।
अनुसन्धान गर्दै जाँदा सिआईबीले क्रिकेटर आदिल अन्सारी र मेहबुब आलमलाई पक्राउ गरेको छ । यसबारे पछि मात्रै सार्वजनिक गर्ने तयारी रहेको सिआईबीले जनाएको छ ।
सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालिया सिआइबीले लिगमाथि अनुसन्धान गरिरहेको थाहा पाएपछी भारत भागेका थिए । लिग सञ्चालन गर्ने जिम्मा पाएका कम्पनीको मालिक भागेपछी सिआईबिले उनिमाथि थप अनुसन्धान बढाएको थियो । उनिमाथि अनुसन्धान गर्दै जाँदा फिक्सिङ गर्ने प्रमुख व्यक्ति रहेको सिआइबी उच्च स्रोतले जनाएको छ ।
सिआइबीले फोन कल विवरण, उनको पृष्ठभूमि हेर्दा पनि नेपालमा रहेका क्रिकेट क्षेत्रका व्यक्तिहरूसँग राम्रै चिनजान भएको स्रोत बताउँछ। “कल डिटेल्स, पृष्ठभूमि हेर्दा नेपालीहरूसँग राम्रै चिनजान देखिन्छ । उसले ज–जसलाई दुरूपयोग गर्न सकिन्छ तिनीहरूलाई प्रयोग गरेको देखिएको छ,” स्रोतले भन्यो, अनुसन्धानबाट उनी नै मुख्य व्यक्ति हो भन्ने देखिएको छ । यसबारे हामी थप अनुसन्धान गर्दैछौं ।
उनलाई पक्राउ नै गर्ने सिआइबीको तयारी रहेको स्रोतको दाबी छ। लिगमा मुख्य प्रायोजकको रूपमा वान एक्स ब्याट कम्पनी थियो। बेटिङ गराउने कम्पनी वान एक्स बेटको सहायक कम्पनी रहेकाले पनि यसको आर्थिक स्रोत बेटिङ नै हो कि भन्ने प्रहरीको आशंका थियो।
सिआइबीले यस लिगमा प्रत्यक्ष रूपमा क्यानको संलग्नता नरहेको जनाएको छ। तर यसमा क्यानको पनि कमजोरी देखाउँदै सुझाव दिने सिआईबीको तयारी छ । भारतमा केही खेल खेलाएकै भरमा क्यानले नेपालमा लिग चलाउन दिनु कमजोरी रहेको सिआइबीको भनाइ छ। यसरी लिग सञ्चालन गर्न दिनुअघि नै कम्पनीको पृष्ठभूमि नहेरेको हुँदा पनि यस्तो घटना भएको प्रहरीको बुझाइ छ।
सम्झौतामा नै क्यानको कमजोरी रहेको प्रष्ट देखिएको छ । “सम्झौता गर्दा पनि सुरूमा एक वर्षसम्मको मात्रै गरेको भए पनि हुन्थ्यो । तर आफ्नो कार्यकालभन्दा बढी समयको पनि सम्झौता गरेको पाइयो,” सिआइबी उच्च स्रोतले भन्यो,“श्रम स्वीकृतिमा समन्वय नभएको देखियो।
यस लिगमा नेपाली खेलाडी र विदेशी गरी करिब ७ जनाको संलग्नता रहेको सिआइबीले जनाएको छ । उनीहरूको बैंकको विवरण पनि प्रहरीले चेक गरेको छ । कतिपय शंका भएका ठाउँमा खेलाडीले फिक्सिङ गरेको देखिए पनि कसले गराएको भन्ने खुलिनसकेको प्रहरीले बताएको छ।
लिगमा स्पट फिक्सिङ भएको आशंका पछि आइसिसीको टोली नेपाल आएको थियो। आइसिसीको टोलीले सिआइबीसँग भेटेर सहयोग गर्ने बताएको थियो। “आइसिसीले विभिन्न च्यानलबाट आएका सूचनाहरू दिने भन्नुभएको थियो। लगभग ती कुराहरू हाम्रो अनुसन्धानसँग मिल्दोजुल्दो नै छन्,” स्रोतले भन्यो,“हामीले केही छुटाएका कुराहरू पनि औंल्याएको थियो, हामीले त्यो पनि हेरिरहेका छौं” ।
सेभेन थ्री स्पोर्ट्ससँग कुनै ठूलो लिग गरेको अनुभव छैन । कम्पनीलाई बेटिङ कम्पनी भएको आरोप लागेको थियो । तर कम्पनीका प्रमुख जतिनले आफूहरू कुनै बेटिङ कम्पनी नभएको स्पष्टीकरण दिने गरेका थिए ।
क्यानले सेभेन थ्री स्पोर्ट्ससँग स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनैतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) दिँदै ८ वर्षको सम्झौता गरेको थियो । सम्झौता अनुसार क्यानले आठ वर्षमा ३३ करोड रूपैयाँ पाउने उल्लेख थियो । पहिलो सिजनमा ३ करोड ९० लाख पाउनु पर्ने थियो भने अहिले सम्म पुरा रकम पाईसकेको छैन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले लिगका लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको थियो । काउन्सिलमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक थिए । त्यस्तै सदस्यमा भने भारतीय पूर्वक्रिकेटर अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल थिए ।
यस्तै परिषद सदस्यमा नेपाल टी–२० लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसका प्रमुख जतिन थिए । सबै कामकारबाही उनले भनेअनुसार नै चल्ने गरेको थियो । टी–२० चलिरहँदा जतिन एक्कासि भारत पुगेका थिए । उनी भारत पुगेपछि लिगमा खेलाडीले पारिश्रमिक नपाएको सार्वजनिक भएको थियो । लगत्तै लिगमा स्पट फिक्सिङ भएको आरोप लागेको थियो ।
लिग विवादित बनेपछि जतिनले भारतबाट आफूलाई सुरक्षा खतरा भएको भन्दै नफर्किने कुरा सञ्चार माध्यममार्फत सार्वजनिक गरेका थिए । लिग चलिरहँदा गृह मन्त्रालयको निर्देशनमा सिआइबीले लिगमा स्पट फिक्सिङ भएको विषयमा अनुसन्धान थालेको थियो । सिआइबीले फिक्सिङमा सेभेन थ्रीका प्रमुख जतिनको संलग्नता भएको निष्कर्ष निकालेको थियो ।
