Saturday, June 6News That Matters

पक्राउ परेका सांसद चौधरी कारागार चलान

पूर्णपुष्टि, माघ २० गते । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् । उनि कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका सांसद हुन् । ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहिबार बाँकेबाट पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई कैलाली प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलान गरेको हो । उनलाई सुरक्षा संवेदनशीलता भन्दै बाँकेबाट जहाजमा काठमाडौं ल्याएर जहाजमै धनगढी लगिएको थियो ।

फरार सुचिमा रहेको चौधरी चुनावमा उठेर विजयी भएका थिए । नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाई माग गर्दै बिहिबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । २०७० वैशाख ९ गते अदालतको फैसलाले तीनै जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।