Wednesday, April 22News That Matters

पूर्व प्रधानमन्त्रीको घरमा भेटिएको जलेको पैसामाथि अनुसन्धान सुरु

पूर्णपुष्टि÷गाईघाट, असोज १२ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वमन्त्री दीपक खड्काविरुद्ध औपचारिक अनुसन्धान शुरु गरेको छ ।

गत भदौ २४ गते प्रदर्शनकारीहरूले यी नेताहरूको घरमा आगजनी गर्दा ठूलो मात्रामा नेपाली र विदेशी मुद्रा जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यी भिडियोहरूमा घरभित्रबाट निकालिएको र पछि जलेको नगदको दृश्य देखिएको थियो ।

विभागको टोली असोज ५ मा बूढानीलकण्ठस्थित देउवा र खड्काको निवास पुगेको थियो । दाहालको खुमलटारस्थित निवासमा भने असोज ७ मा पुगेर भग्नावशेषबाट जलेका नोटका टुक्रा र अन्य प्रमाण संकलन गरेको थियो । संकलित नमुनाहरू परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको विभागका एक अधिकारीले जानकारी दिए । प्रारम्भिक स्क्रिनिङमा कैफियत देखिएपछि आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।

देउवाको सचिवालयले भने सार्वजनिक भिडियोका विषयमा खण्डन गरेको । देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोलकल्पित, अतिरञ्जित र भ्रामक छन् । २०४८ देखि निरन्तर सार्वजनिक पदमा रहँदै आएका देउवा डडेलधुराबाट लगातार विजयी भएका छन् । उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । पत्नी आरजु राणा पनि विभिन्न पदमा रहिसकेकी छिन्।

२०६२÷६३ को राजनीतिक परिवर्तन पछि संसदीय राजनीतिमा सक्रिय दाहाल तीन पटक प्रधानमन्त्री भइसकेका छन् । उनीमाथि सशस्त्र द्वन्द्वकालका विभिन्न आरोपहरू छन् । पूर्वऊर्जामन्त्री खड्काविरुद्ध जलविद्युत् लाइसेन्समा विवाद र जग्गा हिनामिना प्रकरणमा संलग्नताका आरोपहरू छन् ।

विभिन्न टिकटक र फेसबुक प्रयोगकर्ताहरूले आगजनी पछि जलेका नोट र उडिरहेको नगदका भिडियोहरू पोस्ट गरेका थिए । यी भिडियोहरू २५ भदौदेखि भाइरल भएका थिए । तथ्य जाँचकर्ताहरूले यी भिडियो वास्तविक घटनाका दृश्य भएको पुष्टि गरेका छन् ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारको अनुसन्धान गरी दोषीलाई कारबाहीको प्रतिबद्धता जनाएकी छिन् । उनले विगतमा भएका भ्रष्टाचारको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएकी छिन् ।