
पूर्णपुष्टि, ११ माघ ।
पूर्व सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका वडा नं १५ बैथुम्की डाँडाँमा हिलस्टेनको सिलन्यास गरेको छ । किरातीले त्रियुगा नगरभित्र पर्ने तिन ओटा वडाहरु १४, १५ र १६ मा निर्माण हुने हिलस्टेनको शुक्रबार एक कार्यक्रमकाबीच सिलन्यास गरेको हो । पर्यटन मन्त्री रहँदा किरातीले उक्त हिलस्टेनका लागि झण्डै तिन करोड बजेट छुटाएका थिए । आज सोही बजेट कार्यन्वयनमा आएर काम अघि बढिसकेको १६ नं वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिए । २ करोड ९० लाख बजेट रहेकोमा २ करोड ७० लाखमा ठेक्का लागि काम सुरु गरिसकेको अध्यक्ष राईको भनाई छ ।
त्रियुगाको पहाडी वडाहरुमा पर्यटन भित्राउने लक्ष सहित हिलस्टेनको प्याकेज सहितको निर्माण कार्य सुरु भएको हो । जसमा त्रियुगाको १४ र १५ को सिमानामा पर्ने बैथुम्की डाँडाँमा पिकनिक स्पोर्ट, पार्क, लिँगे पिङ, लगायतका संरचनाहरु बन्ने छन् भने १४ मा र्याफ्टिङका लागि संरचना निर्माण गरिनेछ । यता १६ मा भने आहाले देखी रौता सम्म पदयात्रा लगायत बिभिन्न संरचनाहरु निर्माण गरिने छ । यी सबै संरचनाहरुले पर्यटकलाई आकर्षक गर्नेछ । किरातीले देशभर ७ ओटा मात्रै हिलस्टेनको योजना मध्ये उदयपुरलाई एउटा योजना दिएको जनाए । मन्त्रालयमा बजेट अभावको बावजुत पनि उदयपुरको लागि ७ ओटा भित्रका योजना दिन सफल भएको जनाए । उदयपुरमा दिन लागेको हिलस्टेनको योजना अन्य ठाउँका लागि तयारी भएको भएपनि उदयपुरका जनताहरुको मागलाई सम्बोधन गर्दै ३ कारोड बराबरको हिलस्टेन योजना दिलाउन सफल भएको किरातीले जनाए ।