Friday, May 15News That Matters

प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज ८ सम्म विश्वासको मत लिसक्नु पर्ने


पूर्णपुष्टि, असोज १

प्रदेश नं १ का मुख्यमन्त्री भिम आचार्यले आउँदो साता सम्म विश्वासको मत जाहेर गरिसक्नु पर्ने विपक्षी दलहरुले बताएका छन् । विपक्षी दलहरुले असोज ८ सम्म मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव अघि बढाउने जनाएको छ ।
आउँदो असोज ८ सम्मलाई अल्टिमेट दिँदै विपक्षी दलहरुले भनेका छन, तोकेको समयमै विश्वासको मत नलिए प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान्छौँ ,
मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने निष्कर्षमा गठबन्धनमा आवद्ध दल पुगेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
‘प्रदेश सरकारले असोज २३ गते विश्वासको मत लिने तयारी गरिरहेको चर्चापछि विपक्षी गठबन्धनको बैठक बसेको छ,’ आङबोले भने, ‘संविधान विपरीत सरकार चल्न नहुने गठबन्धनभित्रका दलको निष्कर्ष छ ।’
मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्रै विश्वासको मत लिने प्रकृयामा सुरु नगरे अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने निर्णय भएको उनले बताए ।
यता प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि आह्वान भएको छ । विपक्षी गठबन्धन भने मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई त्यतिन्जेलसम्म लम्ब्याउने पक्षमा देखिएको छैन ।

अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले हालै मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी गठबन्धन थप सशंकित भएको छ । त्यसैले पनि विपक्षी दलहरुले अब एक साताभित्र मुख्यमन्त्रीले विश्वासको मत नलिएमा प्रदेशसभामा अविश्वास प्रस्ताव लैजाने योजना बनाएका हुन् ।
प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दल छन् । चार दलको बैठकले असोज ८ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रकृया सुरु नगरे अविश्वास प्रस्ताव ल्याएर हटाउने सहमति गरेका छन् ।