
पूर्णपुष्टि, साउन ११ । झापाको भद्रपुर नगरपालिका–५ बाट प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ वर्षीय मोहमद इस्लाम रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्याल्य बिराटनगरका अनुसार शनिबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रहरीका अनुसार लागुऔषध बरामद भएपछि इस्लामलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई नै हातपात गरेका थिए । आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली प्रहार गर्न बाध्य भएको जनाएको छ । इस्लामको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका इस्लामको प्रहरीको निगरानीमा बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
