
पूर्णपुष्टि, असार २० । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन बनेसँगै बागमती प्रदेश सरकार सङ्कटमा परेको छ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ ।
जम्कट्टेलले गत एक वर्षमा तीन पटक विश्वासको मत लिएर सरकार जोगाएका थिए । तर नयाँ समीकरणमा कांग्रेस र एमालेको गठबन्धनले प्रदेश सभामा बहुमत पुर्याएको छ । ११० सदस्यीय सभामा कांग्रेस र एमालेसँग ६४ सांसद रहेका छन्।
नयाँ समीकरण अनुसार बागमती प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको छ । यद्यपि अहिलेसम्म प्रदेशका दलहरूले आधिकारिक प्रतिक्रिया दिएका छैनन् । केन्द्रमा हुने अन्तिम घटनाक्रमको प्रतीक्षामा प्रदेशका दलहरू रहेका छन् । यो परिवर्तनले बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने र सत्ता परिवर्तन हुने सम्भावना बढेको छ । आगामी दिनमा प्रदेश राजनीतिमा थप हलचल देखिने अनुमान गरिएको छ ।
