
पूर्णपुष्टि, १२ माघ ।
बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्गलाई थप व्यवस्थीत बनाउन गाईघाटमा बृहत छलफल गरिएको छ । लिम्चुङबुङ गाउँपालिका र नेपाली सेनाको सक्रियतामा सो पदमार्गको विकास गर्न थालिएको छ । पदमार्गलाई क्रियाशिल बनाउन थप संरचनाहरुको आवश्यक बारे शनिवार पशुपति गण बोक्सेले अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेका थिए । छलफलमा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का र रौतामाई गाउँपालिकाको उपाध्यक्ष भुपिन्द्र बहादुर थापा लगायतको उपस्थिति थियो ।
यो सँगै पर्यटन व्यवसायी र संञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । बोक्से गणका गणपति पसुपति प्रसाद वाग्लेले पदमार्गलाई बाह्रै महिना क्रियाशिल बनाउन र आकर्षण गर्न संरचनाहरुको सुधार गर्नुपर्ने जनाए । जस अन्तर्गत छोटोदुरीको पदमार्ग, व्यवस्थीत वास स्थान, रमणीय बातावरण, स्थानीय कला र संस्कृति, घरेलु व्यवसाय, पर्यटन सम्बन्धी जानकारी मुलक बोर्ड, मार्ग पहिचान जस्ता कुरामा ध्यान दिनु पर्ने जनाए । छलफलको क्रममा यस पदमार्गलाई निरन्तर क्रियाशिल बनाउन पालिकाहरुले बजेट व्यवस्थापनको काम अघि बढाउने प्रतिवद्धता दिएको छ । मुख्यतया तिन ओटा पालिकामा पर्ने बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्ग लागि तिनै तहले संयुक्त पहल कदमि चाल्ने जनाईएको छ । जसमा संञ्चारकर्मी, नेपाली सेना र पर्यटन व्यवसायीहरुले सहयोग र समन्वय गर्ने छलफल भएको छ ।