
पूर्णपुष्टि, बेलका २६
उदयपुरको बेलका नगरपालिकाले पनि अबैध संरचना हटाउन सूचना जारी गरेको छ । सुन्दर, स्वच्छ तथा सफा सहर सँगै दुर्घटना नियन्त्रनमा समेत सहयोग पुगाउने हिसावले मापदण्ड विपरित बनाएको संरचनाहरु तोकिएको समयभित्र तत्काल हटाउन सूचना जारी गरेको नगर प्रमुख असोक कार्कीले जनाउनुभयो । बजारमा बनेको अनावश्यक बिभिन्न संरचना तथा फुटपाथले अव्यवस्थीत शहर र दुर्घटनालाई बढाएको भन्दै यसलाई नियन्त्रण गर्नु पर्ने नगरपालिकाको दायीत्व स्वरुप सबैलाई सूचना मार्फत अनुरोध गरेको कार्कीको भनाई छ ।

बजारमा प्रयोजन विपरित सडक पेटी आसपास संरचना बनाउँदै व्यापारव्यवसाय बनाउने चलन बढेको छ । सडक पेटीहरुमा पैसाको लोभमा संरचनाहरु निर्माण गरिनुले साँघुरो र भिँडभाँड बढाएको छ । । काठमाडौं महानगरपालिकाले लिएको एक्सनबारे देशभर चर्चा भइरहदा बेलका नगरपालिकाले पनि यसलाई प्राथामिकतमा राखेर काम अगाडी बढाएको छ । सूचनामा उल्लेख अनुसार सडकको दायाँवायाँ १५–१५ मिटर खाली गर्न अनुरोध गरेका छन् । तोकिएको मितिमा पनि अवैध संरचना नहटाए नगरपालिका आफैले डोजर चलाएर संरचना हटाउने अभियानमा निस्कने जनाईएको छ ।

