Friday, July 11News That Matters

माओवादी केन्द्र र नेसपाको पार्टी एकता आज

पूर्णपुष्टि, बैशाख १२ । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज औपचारिक पार्टी एकता हुने भएको छ । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे आयोजना हुने एकता घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्य सम्बोधन गर्नेछन् ।

नेसपाका पूर्व अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि गंगानारायण श्रेष्ठले एकताको प्रक्रियालाई अगाडि बढाएका हुन् । श्रेष्ठले आफ्नो पक्षमा बहुमत नेताहरूको समर्थन रहेको दाबी गरेका छन् ।

श्रेष्ठका अनुसार २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जनाले उनलाई समर्थन गरेका छन् । यो संख्याले नेसपाको नेतृत्वमा श्रेष्ठको बलियो स्थिति देखाउँछ ।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवारहरूले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लडेका थिए । त्यही समयदेखि दुई दलबीच पार्टी एकताको सहमति भएको थियो ।

तर यादवले एकताका विषयमा ढिलाइ गरेको र पछि हटेको भन्दै श्रेष्ठले एकताको प्रक्रियालाई तीव्रता दिएका थिए । यादवको असहमतिपछि श्रेष्ठ नेतृत्वको समूहले माओवादी केन्द्रसँग एकताको वार्ता अगाडि बढाएको हो ।

आजको एकता घोषणा कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरूको उपस्थिति रहनेछ । अध्यक्ष प्रचण्ड बाहेक अन्य माओवादी नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । एकताको औपचारिकतापछि दुवै पार्टीका नेताकार्यकर्ताहरू एकै संगठनमा समाहित हुनेछन् ।