
पूर्णपुष्टि, माघ २३ । उदयपुरमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस पटक जिल्लाभरका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने जानकारी दिएको छ ।
यसैगरी गत वर्ष छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीलाई पनि सोही कार्यक्रम अन्तर्गत खोप लगाइने कार्यालयले जनाएको छ । खोप सुपरभाइजर चिरञ्जीवी निरौलाका अनुसार जिल्लाभरि गत वर्ष छुटेका २९३ सहित तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइनेछ ।
जिल्लाका आठ स्थानीय तहमा रहेका २०४ सामुदायिक र ८२ संस्थागत गरी जम्मा २८७ विद्यालयका किशोरीलाई खोप दिइने उनले बताए । यसका लागि ३४९ खोप केन्द्र तोकिएको छ भने ३६३ जना स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । खोप अभियान माघ २६ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।
