
उदयपुर, असार २७ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाको जिम्मेवार सरकार हुनुपर्ने भन्दै उदयपुरमा आज विरोध प्रदर्शन भएको छ ।
दलित अधिकार सञ्जाल उदयपुरले गाईघाट बजारमा विरोध प्रदर्शन गरेको हो । सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीहरुले मृतक नेपालीको परिवारलाई क्षतीपूर्ती र न्यायको माग गरेका छन् ।
“उनको आत्मदाह सरकारको गलत नीति र गैरजिम्मेवारीपनको परिणाम हो” उनीहरुले भनेका छन् ।
बेरोजगारी, गरिबी र राज्यले नागरिकप्रति गरेको असंवेदनशील व्यवहारको परिणाम भएको टिप्पणी उनीहरुले गरेका छन् । घटनाको निश्पक्ष छानविन गरी दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय र क्षतीपूर्तीको माग उनीहरुले गरेका छन् । त्यसैगरी जिल्लाको चौदण्डीगढी नपा–६ बेल्टार बजारमा पनि दलित अधिकारकर्मी तथा स्थानीयले प्रदर्शन गरेका छन् ।
सरकारले यो घटनामात्र नभइ आगामी पनि यस्ता घटना हुन नदिने गरी सम्बोधन नगरेमा कडा आन्दोलनमा उत्रने दलित अधिकार सञ्जाल उदयपुरका अध्यक्ष मेम विश्वकर्माले बताए । “हामीलाई सडकमा खरोरुपले उत्रन बाध्य नपारोस् सरकारले” अध्यक्ष विश्वकर्माले भने ।

