
पूर्णपुष्टि, जेठ २२ । ईलाम चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलामा आएको बाढीले जिप बगाउँदा एक महिला सहित बालकको मृत्यु भएको छ ।
मत्यु हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाईते निरु लिम्बुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार इलामको लारूम्बाबाट दमक आउँदै गरेको लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी रतुवा खोलाले बगाएको थियो । जिपमा ६ जना सवार थिए । बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
