राष्ट्रिय पहिचान बोकेको लालीगुराँस उदयपुरमा पाइन्छ, तर संरक्षणमा ध्यान कसैको गएन

पूर्णपुष्टि, कात्तिक १५ ।
“ए ! वनपाखा रातै हुन्थ्यो, त्यो बेला त कम्ता रमाइलो हुन्थेन” विगतलाई सम्झदै रौतामाईकी स्थानीय मधुकुमारी राईले भन्नुभयो “आजभोली त औषधि जस्तै खोज्न पर्छ” । विगत दश वर्षयता लालीगुराँस मासिदै गइरहेको स्थानीयहरु बताउछन् । जिल्लाको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा लालीगुराँस हेर्नकै लागि पनि मानिसहरु जाने गर्दथे । अहिले त्यो अवस्था छैन ।

चैत बैंशाखमा फुल्ने लालीगुराँसले उदयपुरमा संरक्षण नपाउदा मासिदै गएको छ । संरक्षणमा कसैको चाँसो नहुँदा राष्ट्रिय फुल लालीगुराँस उदयपुरमा मासिएको हो । राष्ट्रिय पहिचान बोकेको गुराँस उदयपुरमा पनि पाइन्छ भन्दा आफैमा गौरब लाग्ने र मन रमाउने कुरा त हो तर, संरक्षणमा कसैले ध्यान दिएका छैनन् । भएकाको संरक्षण नहुनु मात्र हैन, स्थानीयले दाउराका लागि काट्ने गरेपछि झनै मासिएको हो ।

रौतामाई गाउँपालिकाका पूर्व शिक्षक दुर्गाबहादुर राईका अनुसार जिल्लाको पहाडी भेगको लेक क्षेत्रमा पाइन्छ लालीगुराँस । जिल्लाको आठ पालिका मध्ये लिम्चुङबुङ, ताप्ली, रौतामाई, उदयपुरगढी गरी सबै गाउँपालिकाको बन, जंगल र पाखोहरुमा पाइन्छन् लालीगुराँस । जिल्लाको कटारी, त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाको पहाडी भेगमा पनि लालीगुराँस पाइन्छ । यस हिसावले लालीगुराँसको उपयुक्त वातावरण भएको ठाउँ हो उदयपुर तर, झनझन मासिदै जाँदा नयाँ पुस्ताले लालीगुराँस कस्तो हुन्छ भनेर जिज्ञासा राख्नुपर्ने अवस्था आएको छ ।

लालीगुराँसको बोटलाई दाउराको रुपमा नकाटिदिने मात्र भएपनि धेरै मात्रामा संरक्षण हुने देखिन्छ । दाउरा राम्ररी बल्ने भएपछि ेलेक क्षेत्रका स्थानीयले लालीगुराँसको बोट नै बढी प्रयोग गर्ने गरेका हुन् । काट्न होचो र सजिलो हुने भएकाले पनि घाँसे–दाउरेको पहिलो निसानामा पर्छन् लालीगुराँस बोटहरु । लालीगुराँस हाम्रो सम्पदा हो, गौरब हो, देशको पहिचान हो भनेर चेतनाको अभावले गाउँलेहरु लालीगुराँसलाई सामान्य बनस्पतिकै रुपमा हेर्छन् र दाउरा बनाउने गरेको लिम्चुङबुङ गाउँपालिकाका स्थानीय सरोज कार्कीले बताए ।

फुलको हिसावले लालीगुराँस मन नपराउने कोही छैन । स्वभाविकरुपले मन लोभ्याउने भएपछि पर्यटक आकर्षण गर्ने एउटा कुरा लालीगुराँस पनि हो । यतिबेला स्थानीय तहमा पर्यटनको ठूलो नारा छ । बजेट पनि खर्च भइरहेका छन् । स्थानीय सरकारहरुको पनि लालीगुराँस संरक्षणमा ध्यान पुगेको छैन । उदयपुर थुप्रै पर्यटकीय स्थल भएको जिल्ला हो । ती क्षेत्रका वनपाखामा सिजनमा लालीगुराँसले ढकमक्क सजाउने हो भने आन्तरिक तथा बाह्य पर्यटक तान्न सजिलो हुनेमा दुईमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: