Sunday, May 31News That Matters

लिम्चुङबुङमा जनप्रतिनिधिलाई खरिद गर्ने चारपांग्रे सवारी साधनको पैसाले सर्बसाधारणको लागि बस खरिद

पूर्णपुष्टि, मंसिर १६
लिम्चुङबुङमा जनप्रतिनिधिलाई खरिद गर्ने चारपांग्रे सवारी साधनको पैसाले सर्बसाधारणको लागि बस खरिद गरिएको छ । स्थानीय सरकार लिम्चुङबुङ गाउँपालिकाले उदयपुरको दुर्गम क्षेत्रमा यातायात सेवा सुरु गरेको हो । बस खरिद गरी पालिकाबासी र आसपासका दुर्गम क्षेत्रका नागरिकहरुका लागि यातायात सेवा सुरु गरेको पालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । सर्बसाधारणको हितमा थालिएको यातायात सेवा सुलब गरिएको छ । अध्यक्ष राईले भन्नुभयो –“जनप्रतिनिधि गाडी चढ्ने भन्दा पहिले जनताको सुविधालाई प्राथमिकता दिइएको छ ।”

यातायात सेवाका लागि पालिका आफैले खरिद गरेको एउटा बस हिजोबाट सञ्चालनमा आएको छ । पालिकाको सदरमुकाम बराहास्थित राईचौकदेखि जिल्ला सदरमुकाम गाईघाटसम्मको यात्राका लागि सेवा सुरु भएको हो । लिम्चुङबुङबाट गाईघाट ६५ किलोमिटर कच्ची सडक दुरी छ ।
प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार बृद्धबृद्धा, अशक्त, अपाङ्ता भएकाहरुका लागि ५० प्रतिशत भाडा छुट छ । कृषक, उद्यमीहरुका लागि उत्पादन निर्यात तथा कच्चापदार्थ आर्यतमा २५ प्रतिशत छुट छ भने विद्यार्थीका लागि १० प्रतिशत छुट छ । पालिकाले लिम्चुङबुङ–गाईघाटका लागि ६०० रुपैया भाडादर तोकेको छ ।
चारवर्षअघि स्थानीय तहको निर्वाचनमा गाउँगाउँमा भोट माग्न जाँदा पैदल हिडेको कुरालाई स्मरण गर्दै त्यहाँका जनप्रतिनिधिहरुले पालिकाबासीलाई बस चढाउने निधो गरेका थिए । सोही अनुरुप पाँचै वडामा ठूलो बस पुग्ने सडक विस्तार भइसकेको छ । सडक विस्तारसंगै साना तथा ठूला बस लगायतका सवारी साधन चल्न थालेका भएपनि निम्नबर्गको पहँुच पुगेको छैन । विशेषगरी निम्नबर्गलाई सुलभरुपले सेवा प्रदान गर्न यातायात सञ्चालन गरिएको लेखा अधिकृत ताराकिरण राईको भनाई छ ।
पालिकाले यातायात सेवा सञ्चालन जिल्ला मात्र नभइ प्रदेशकै पहिलो अभ्यास हुनसक्छ । यसबाट पालिकाबासी सर्बसाधारणलाई आवतजावत मात्र नभइ कृषक, उद्यमीसममेतलाई टेवा पुग्ने गरी सेवा सञ्चालन गरिएको पालिकाकी उपाध्यक्ष रमिला राईले बताउनुभयो । उहाँका अनुसार पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सबै जनप्रतिनिधि तथा कर्मचारीहरु मोटरसाईकल चलाउँछन् ।
पालिकाले आफुहरुको लागि यातायात सेवा सञ्चालन गरेकोमा पालिकाबासीले खुसी ब्यक्त गरेका छन् । पालिकाबासीको आवश्यकता अनुरुप बस सञ्चालन भएको स्थानीय गञ्जु शेर्पाले बताउनुभयो । यातायात सेवाको निरन्तरता र ब्यवस्थापन चुनौतीपूर्ण हुनेमा पालिकाबासी चिन्तित छन् । सेवा नियमित र निरन्तर हुनुपर्ने मत उनीहरुको छ । स्थानीय हर्क राईले थप एउटा बस किन्न आवश्यक देखिएको बताउनुभयो । पालिकाको दुईवटा बस हुँदा एकैदिन जान, आउन सुविधा मिल्ने उहाँको भनाई छ ।