
पूर्णपुष्टि, असोज २६ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ जसमा नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले टाइम्स अफ इजरायल, एपीसहित प्रमुख सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका छन् ।
शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ । यस सम्झौताअन्तर्गत इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ ।
विपिन जोशी इजरायलमा कृषिशास्त्र अध्ययनका लागि गएका थिए । उनलाई अक्टोबर ७, २०२३ मा किब्बुट्ज अलुमिम नामक सीमावर्ती बस्तीबाट हमासले अपहरण गरेको थियो । त्यसयता उनी गाजामा हमासको नियन्त्रणमा छन् ।
विपिनको परिवार — आमा पद्मा जोशी र बहिनी — यसअघि गत अगस्ट महिनामा इजरायल पुगेका थिए । विमानस्थलमा आइपुग्दा आमा पद्माले रुँदै पत्रकारहरूलाई भनेकी थिइन्, “कृपया, मेरो छोरालाई बचाउनुहोस् ।”
अन्य जीवित बन्धकहरू
विपिनसँगै जीवित ठानिएकामा निम्न व्यक्तिहरू छन्:
गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ–दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ (चैम) ओहाना, एलोन ओहेल, अविनाटन ओर, र मातान जंगाउकर रहेका छन् ।
