
पूर्णपुष्टि, जेठ ४ । उदयपुरको त्रियुगा नगरपालिकाले आज वडा नं. १२ का सर्वसाधारणको घर, टहरामा डोजर चलाएको छ । सार्बजनिक जग्गाको संरक्षण भन्दै नगरले सनावती चौधरी, महाविर चौधरी, प्रमिला चौधरी, निर्मला चौधरी र रमेश चौधरीको घर तथा टहरामा डोजर चलाएको हो ।
नगरले भत्काइदिएपछि घरबासविहिन बनेका पिडितहरुले नगरले अन्याय गरेको बताएका छन् । विगत १० वर्ष अघिदेखि बस्दै आएको दावी गरेका उनीहरुले ऐलानी जग्गाको रुपमा अरुबाट किनेको उनीहरुको भनाई छ । त्यहाँको जग्गा विभिन्न ब्यक्तिहरुबाट किनबेच हुदै अहिलेको घर बनेको तमसुकहरुबाट देखिन्छ । उक्त जग्गामा आफुहरुको हक लाग्ने दावी गर्दै उनीहरुले नगरले अन्याय गरेको गुनासो गरेका छन् ।
कार्यवाहक वडाध्यक्ष अनिता थापाका अनुसार करिब ९ कठ्ठा सार्बजनिक जग्गामा बनेका टहराहरु हटाइएका हुन् । अदालतले नदि उकास सार्बजनिक जग्गा भनेकोले नगरले संरक्षण गरेको उनको भनाई छ ।





