
पूर्णपुष्टि, चैत्र २६ । सस्तोमा आइफोन दिने भन्दै विज्ञापन राखि ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाही रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले हाम्रो बजार डटकम नामक अनलाइनमा आइफोन १४ प्रोम्याक्स मोवाइल सस्तोमा दिने भन्दै विज्ञापन राखेर मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग रकम लिएर सम्पर्कविहीन भएको आरोपमा उनलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग मोवाइलको मूल्य, डेलिभरी चार्ज र कुरियर चार्जजस्ता विभिन्न प्रयोजनमा रकम लाग्छ भनेर बैंक खाता, ईसेवा तथा खल्ती वालेटबाट रकम पठाउन लगाएको पाइएको छ। उनलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले जनाए ।
