
पूर्णपुष्टि, बैशाख १२ । नेकपा समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् । समायोजनसँगै श्रेष्ठले माओवादी केन्द्रमा केन्द्रीय सचिवको पद पाएका छन् ।
२०७२ सालको असोज ९ गते डा बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । त्यतिबेला माओवादीको पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ आज १० वर्षपछि पुरानै घर फर्किएका हुन् । उनी भट्टराईसँग मिलेर तत्कालीन नया शक्ति पार्टी नेपाल गठनमा सहभागी भएका थिए ।
नया शक्तिका संस्थापक नेताहरूमध्ये भट्टराई र हिसिला यमीले फेडरल समाजवादी पार्टी गठना गरेपछि श्रेष्ठले महिन्द्रराय यादवसँग मिलेर नेकपा समाजवादी पार्टी गठना गरेका थिए ।
माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन् ।
श्रेष्ठले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । श्रेष्ठका साथमा माओवादी केन्द्रमा प्रवेश गर्ने नेताकार्यकर्ताहरूको संख्या र उनीहरूको पार्टीमा कस्तो स्थान मिल्छ भन्ने विषयमा माओवादी केन्द्रको आन्तरिक छलफलपछि निर्णय हुने बताइएको छ ।
