Sunday, May 3News That Matters

१ सयको नोटमा चुचे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि

पूर्णपुष्टि, बैशाख २४ । नेपाल सरकारले १ सयको नोटमा चुचे नक्सा राख्ने निर्णय गरेको प्रति भारतले असन्तुष्टि जनाएको छ । बैशाख २० गते (बिहिबार) बसेको मन्त्रिपरिषदको बैठकले १ सयको नोटमा चुचे नक्सा समावेश गर्ने निर्णय गरेको थियो ।

नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालको एकपक्षीय निर्णयले ‘अवस्था नबदलिने’ बताएका छन् । ओडिशाको भुवनेश्वरमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा उनले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताए । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत छलफल गर्दै आएको बताए । यहीबीचमा नेपालले एकपक्षीय ढंगबाट निर्णय गरेको बताए । एकपक्षीय निर्णयले दुई देशबीचको अवस्था र स्थलको यथार्थ परिवर्तन नहुने समेत उनले बताए।

भारतले स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएको दाबी गरे पनि नेपालले भारतलाई पटक–पटक सीमा समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न कूटनीतिक नोट पठाएको थियो । एकातर्फ भारतबाट कुनै पनि जवाफ नआउनु र अर्कोतर्फ नेपालको भूभाग हुँदै भारतबाट चीनको सीमा नाका पुग्ने सडक सञ्जालको निर्माण गर्दै उद्घाटन गरेपछि नेपालले विरोध गरेको थियो । २०७६ सालमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपालको भूभाग समेटेर नक्सा निकालेको थियो । त्यसपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएर विरोध गर्‍यो ।

साथै, समस्याको समाधान गर्न कूटनीति वार्ताका लागि आग्रह गरेतापनि भारतले कोभिड–१९ को महामारीको कारण देखाउँदै वार्ता गरेन । भारतले नेपालले पठाएको कूटनीतिक नोटको जवाफ पनि दिएन । पछि २०७७ को वैशाख २६ मा रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभागमा भारतले निर्माण गरेको सडकको उद्घाटन गरे । त्यसमाथि नेपालले फेरि आपत्ति जनायो र वार्ताका लागि कूटनीतिक पहल गर्‍यो । तर भारतले उक्त कूटनीतिक पहललाई पनि वास्ता नगरेपछि नेपालले बाध्य भएर आफ्नो भूभाग समेटिएको नयाँ चुच्चे नक्सा ल्याएको थियो ।