
पूर्णपुष्टि, माघ १७
अनलाइन माध्यमबाट जुवा खेलिरहेको अवस्थामा ८ महिलासहित ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ गरेको हो ।
तर पछिल्लो समय अनलाइन माध्यमबाट जुवा खेल्नेहरू पनि बढ्न थालेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार महामारीको संक्रमणलाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका थिए । पक्राउ पर्नेमा ८ जना महिला र ६६ पुरुष थिए । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।
घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

