Wednesday, June 10News That Matters

जंगलबाट तेह्रथुमको तामाङ बस्ति पसेको आगलागीले १४ घर जलेर नष्ट

पूर्णपुष्टि,फागुन १३ । गएराती तेह्रथुमको आठराई–६ चुहानडाँडामा आगलागीबाट हात्तीखर्क सम्म रहेका १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ।

आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ। राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ।

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । तमोर नदी किनारको जंगलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो ।

फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन्। क्षतिको यकिन विवरण आउन बाँकी छ।