
पूर्णपुष्टि, फागुन २७ । आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुँदैछ । आज (शनिबार) बिहान ९ बजे देखी २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
उम्मेदवारी दर्ता पछि नामावली प्रकाशन गर्ने र उम्मेदवार विरुद्ध उजुरी दिने समय आजै रहेको छ । उजुरी परेकामाथि छानबिन गरी अन्तिम नामावली आईतबार प्रकाशन हुनेछ ।
राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक उम्मेदवारको मनोनयन दर्ता गराउन निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । उम्मेदवारी दर्ताका लागि पाँच–पाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ ।
आजै मात्र मनोनयन दर्ताको समय रहेकोले सत्ता साझेदार दल र एमालेले उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ ।
