Sunday, April 19News That Matters

आध्यात्मिक स्वर्ग र नेपाल

आम नेपालीले यहाँका सोत र सम्भावना चिन्ने र साँच्चै लगनशील र इमान्दार भएर तिनको सदुपयोगको प्रयास गर्ने हो भने हामी भोलिका दिनमा नेपालमा स्वर्ग पाउन सक्छौँ ।
डा.जयप्रसाद लम्साल (पिएच. डी.)

आदि कवि भानुभक्तले नेपालको राजधानी सहर कान्तिपुरलाई अलकापुरी कान्तिपुरी नगरी भनेर चित्रण गरेका थिए । यसको अर्थ त्यतिबेला कान्तिपुरका नामले चिनिने नेपालको राजधानी सहर स्वर्गको राजधानी अलकापुरी जस्तै थियो भन्ने हो । अहिले पनि काठमाडौ वरिपरिका पाखा पर्वतमा हरियो वन बाँकी देखिदा त्यसबेला यो वन पक्कै पनि धेरै बाक्लो र तलसम्म फैलिएको थियो भन्न सकिन्छ । त्यस वनका फेदमा अत्यन्त मलिलो र निकै ठुलो हराभरा फाँट । बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, हनुमन्ते, बल्खु लगायतका अन्य साना मसिना नदीमा सललल कन्चन पानी । जताततैका ढुङ्गे धारा गललल । कमल पोखरी, रानी पोखरी जस्ता मानव निर्मित पोखरी । घर र मन्दिर बराबर भएका सहर र गाउँ बस्ती । नेवार समुदायका अनेकन रमाइला जात्रा । यिनै कुराको अनुभवले भानुभक्तले कान्तिपुरलाई अलकापुरी भने होलान् । अहिले भने अनियन्त्रित बसोबासका कारण कान्तिपुरीले आफ्नो सुन्दरता गुमाइसक्यो भन्दा पनि हुन्छ ।
भानुभक्तका समयमा समग्र नेपालले नै धरतीको स्वर्ग बन्ने स्रोत र सम्भावना बोकेको थियो । तर ती स्रोत र सम्भावना त्यतिकै खेर गइरहेका छन्, मासिदै छन्, नेपाल त्यतिकै थोत्रो र पुरानो हुँदैछ । तर अझै पनि उपलव्ध स्रोत र सम्भावनाको सदुपयोग गर्नसके यो मुलुक धर्तिको स्वर्ग बन्नसक्छ । नेपालका त्यस्ता स्रोत र सम्भावना के के हुन् ? पर्याप्त स्रोत र सम्भावना हुँदाहुँदै पनि नेपाल आजसम्म किन निर्धन र बिपन्न अबस्थामा छ ? अब नेपाललाई स्वर्ग सरहको सुन्दर र सम्पन्न मुलुक बनाउन के के गर्नु पर्ला ? तल यिनै विषयमा चर्चा गर्ने प्रयास गरिएको छ।
आध्यात्मले स्वर्ग, पर्लोक जस्ता कुरामा विश्वास गर्दछ । विश्वका विभिन्न धर्मले स्वर्गको बारेमा मनग्गे बयान गरेका छन् । स्वर्ग सुन्दर छ । स्वर्ग सम्पन्न छ । स्वर्ग शान्त छ । स्वर्गमा सुखै सुख र आनन्दै आनन्द भोग गर्न पाइन्छ, आदि।
धर्म शास्त्रमा बताइएको र पन्डितजीहरूले बयान गरेअनुसार स्वर्गमा जताततै फूलैफूलले ढाकेका सुन्दर बगैचा हुन्छन् । बगैचाका छेउछाउ कन्चन निलो पानीले भरिएका सुन्दर कुन्ड, पोखरी, ताल देखिन्छन् । त्यहाँ जताततै कलकल पानी बग्ने खोलानाला र सुन्दर हरियाली वन पाखा हुन्छन् । वनमा अनेकथरी चराचुरूङ्गी चिरिबर गरिरहेको सुनिन्छ । कोइली मयुर अदिको आवाजले वन गुन्जेको हुन्छ । हरिण र खरायो आनन्दले चरिरहेका देख्न पाइन्छ ।
स्वर्गमा कुनै कुराको अभाव हुँदैन । त्यहाँका बगैचामा बारै महिना नानाथरिका अमृततुल्य फल लटरम्म फलेका हुन्छन् । त्यस्ता फल टिपेर खान कसैको रोकतोक हुँदैन । जताततै दुध र महका कुन्ड हुन्छन् । यी कुन्डबाट इच्छाअनुसार दुध, मह निकालेर खान पिउन पाइन्छ । इच्छाअनुसारका सुन्दर बस्त्र उपलव्ध हुन्छन् ।
गन्धर्ब भनिने देब समुहको गीत र अप्सरा भनिने सुन्दर युवतीहरूका तरह तरहका नृत्यले स्वर्गलाई सङ्गीतमय बनाएका हुन्छन् ।
स्वर्गमा सबै जना आपसमा हेलमेल गरेर बस्छन् । कोही कसैसँग झैझगडा गर्दैन । आपसमा सहयोग गर्छन् । दानवहरूले अक्रमण गरेको अवस्थामा बाहेक स्वर्गमा कलह, होहल्ला र भयको वातावरण हुदैन । त्यहाँ रोगव्याधी हुँदैनन्, आदि ।
तर आध्यात्मिक स्वर्ग कति वास्तविक हो, त्यो भने भन्न सकिन्न । देखेको होइन लेखेको र जानेको होइन मानेको स्थान हो, स्वर्ग । जीउँदा मानिसले प्रवेश नपाउने मृत भने पुग्छन् भनेर पत्याउने गरेको अज्ञात स्थान । धर्म शास्त्र, पन्डितजी र पितापूर्खाले बयान गरेका आधारमा हामीले मरेपछि देखिने स्वर्गको सुन्दरता र सम्पन्नतालाई प्रत्यक्ष देखे भोगे जस्तो गरेर पत्याएका छौँ । मरेपछि स्वर्ग मिलोस् भनेर कामना पनि गर्छौँ । तर स्वर्ग भन्ने स्थान कहाँ लुके छिपेको छ, कुन दिशातिर पर्दछ, कुन ग्रह वा पिन्डमा छ, पृथ्वीबाट त्यो ग्रह वा पिन्ड कति टाढा छ भनेर कसैले पनि न अनुमान गर्छ, न सोधखोज ।
अज्ञात स्वर्गमा विश्वास गर्ने हामीसँग कसैले नेपालमा वास्तविक स्वर्ग लुकेको छ भन्यो भने चाहीँ कहाँ लुकेको छ, कसरी लुकेको छ भनेर प्रश्नमाथि प्रश्न आउन सक्छन् । हामी धेरैका मनमा वास्तिवक संसारमा स्वर्ग हुँदैन भन्ने छ । आजको वास्तविकतामा नेपाल र स्वर्गको तुलना हास्यास्पद पनि होला । तर नेपालले स्वर्ग बन्ने स्रोत र सम्भावना बोकेको छ भन्ने कुरा नेपालका हिमाल, पहाड र मदेस चिन्ने स्वदेशी तथा बिदेशीले भने विश्वास गर्छन् । चीनका एक जना प्राध्यापकले “नेपाल सुनको कचौरा थापेर मागिरहेको छ” भनेछन् । नेपालका बारेमा भेउ पाउने अन्य बिदेशीहरूले भनेको सुनिएको छ “तिमीहरूका देशमा धेरै कुरा छ ।” एक जना सिङ्गापुरे नागरिकले भनेका थिए, “तिमीहरूको देश त स्वर्ग जस्तै रहेछ, मैले नेपाल यति सुन्दर होला भनेर सोचेको थिइन ।” हामी आम सर्वसाधारण नेपालीले नेपालको यो वास्तविकता बुझ्न अवश्यक छ । नेपाल भूमि हाम्रै सामुन्नेमा छ । यहाँका स्रोत र सम्भावना यहीँ वरिपरि छन् । तिनलाई नियालौँ र चिनौँ । तिनको सदुपयोगका बारेमा मस्तिष्क मन्थन पनि गरौँ । सायद यस मुलुकभित्र लुकेको स्वर्ग भेटाउन सकिएला ।

(लेखकका यससँग सम्बन्धित लेखहरू हरेक मङ्गलबारको अङ्कमा नियमित प्रकाशित हुने छन् ।)