
पूर्णपुष्टि, भदौ २२
उदयपुरमा आज (मंगलबार) थप ९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ३ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा ४ पुरुष र २ महिला गरी ६ जना, चौदण्डीगढीमा २ जना पुरुष र बेलकामा पनि १ जना पुरुषमा संक्रमण देखिएको हो ।
कोरोनालाई जितेर थप १६ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ८०५ पुरुष र १ हजार ५३८ जना महिला गरी ३ हजार ३३४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । जिल्लामा ४० पुरुष र ४० महिला गरी ८० जना कुल सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङकले जनाएको छ ।
त्यस्तै, वितेको २४ घण्टामा नेपालभर १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ४२३ जना र ३ हजार ९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १ हजार ६७७ जना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार १८२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार वितेको २४ घण्टामा कोरोनालाई जितेर थप २ हजार ७२ जना घर फर्किएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको संख्या ७ लाख ३१ हजार जना पुगेको छ । वितेको २४ घण्टामा कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
