Tuesday, June 30News That Matters

आयोजक टिमलाई हराउँदै मछिन्द्र केपि ओली कपको फाईनलमा

पूर्णपुष्टि, फागुन १५ । केपी ओली कपमा आयोजक केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब फाईनलमा पुगेको छ । मछिन्द्रले आयोजक टिमलाई १–० गोल अन्तरमा पराजित गरेको हो । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो सेमिफाईनल खेलमा मछिन्द्रलाई जित दिलाउन विमाल घर्ती मगरले निर्णयक गोल गरेका थिए ।

सो खेलको १९ औं मिनेटमा मछिन्द्रका लागी विमलले गोल गरेका थिए । अब मछिन्द्रले उपाधिको लागी सातदोबाटो युथ क्लबसँग बुधबार दशरथ रंगशालामा फाईनल खेल खेल्ने छ । आज बिहान भएको पहिलो सेमिफाईनल खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराएर फाइनल पुगेको हो ।

केपी ओली कपको आयोजना नेकपा एमालेका युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गरेको हो । सो प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख नगद पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई ५० हजार नगद प्रदान गरिने छ ।