
९ माघ, २०८२ । उदयपुर
संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए ।
दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ ।
दुई स्वतन्त्र चुनावी मैदानमा कायम
उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा एक÷एक जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ ।
निर्वाचन क्षेत्र नं. १ मा डा. देवराज रोकाले उम्मेदवार दिएका हुन् भने क्षेत्र नं. २ मा मेजरकुमार राईले उम्मेदवारी दिएका हुन् ।
राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् । आजबाट यी दुवै स्वतन्त्र उम्मेदवारको उम्मेदवारी पक्का देखिएको हो ।
