
पूर्णपुष्टि, बैशाख ८ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा मंगलबार बिहान आगलागी हुँदा नाती बाजेको जलेर मृत्यु भएको छ ।
बिहान करिब ३ बजेर २० मिनेटको समयमा शान्तिचोक स्थित पदम खड्काको घरमा आगलागी हुँदा उनका बुबा ७० बर्षिय लक्ष्मी नारायण खड्का र निजका नाति ३० बर्षिय पबन खड्काको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागी बाट दुई वटा घर जल्दा झन्डै ६३ लाख बराबरको क्षेती भएको छ ।
खड्काको घरबाट सल्किएको आगो खड्काको घर संगै रहेको रबिन कुमार दासको घरमा समेत आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको समयमा घरमा सुतिरहेका कारण उनिहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको दुबै घरमा रहेको किराना पसल र स्टेसनरी पसल समेत जलेको छ । बिधुत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ भने आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागी भएको जानकारी प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुर बाट प्रहरी नायब उपरीक्षक निरन्जन थापाको नेतृत्वमा प्रहरी टोलि सहित स्थानिय बासिन्दा र दमकलको सहयोग बाट बिहान ५ बजेर ३५ मिनेटको समयमा आगो पुर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शब अहिले बेल्टार नगर अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ ।
